नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माण हुनुपर्छ : मन्त्री भण्डारी

धनगढी : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कानुनी जटिलताका कारण देशमा ठूला उद्योग स्थापना हुन नसकेको बताएका छन्।
आज धनगढीमा आयोजित औद्योगिक नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा उनले नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माणको आवश्यकता रहेको बताए। उनले निजी क्षेत्र लगानी गर्न तयार भए पनि कानुनी जटिलताले त्यसो गर्न अक्षम भएका र लगानीयोग्य रकम थुप्रिएको वास्तविकता सुनाए।

कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र कानुनी जटिलताकै कारण १० वर्षसम्म निर्माण हुन नसकेको बताउँदै उनले भने, “दैजी छेला औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया प्रारम्भ भएको १० वर्ष भइसक्यो। तर कानुनी जटिलताका कारण अघि बढ्न सकेको छैन। नौ सय बिघा जमिन तयार छ।”

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रलाई ३१ वटा विशेष बुँदामार्फत प्राथमिकतामा राखिएको बताए। उनले कम्पनी ऐनमा सुधार, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार विकास लगायतका विषयमा सरकार सक्रिय भएर लागि परेको बताए।

