सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एरिस्टो स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याए

२०८२ असार १४, ०५:४१ खबर संवाददाता

धनगढीः धनगढीको एरिस्टो इङ्लिस हाई स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उल्लेखनीय सफलता हात पारेको छ।

विद्यालयका दुई विद्यार्थी-गौरव उपाध्याय र प्रदीप गिरिले ४ जिपिए ल्याउँदै विद्यालयको शैक्षिक छवि झन् प्रस्ट पारेका छन्।

विद्यालयद्वारा प्रकाशित विवरणअनुसार, १९ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए ल्याउन सफल भएका छन् भने ५५ जना विद्यार्थीले ३.२१ देखि ३.६० जिपिए र ३८ जनाले २.८१ देखि ३.२० जिपिए बीचको ग्रेड प्राप्त गरेका छन्। यस्तै, ७ जना विद्यार्थीले २.४१ देखि २.८० जिपिए ल्याउँदै एसइई पास गरेका छन्।

विद्यालय प्रशासनले नतिजा सार्वजनिक गर्दै कक्षा ११ मा भर्ना प्रक्रिया पनि सुरु गरिसकेको छ। यससँगै उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति तथा छुट योजना घोषणा गरिएको छ।

छात्रवृत्तिद्वारा उत्कृष्ट विद्यार्थीको सम्मान

विद्यालयले ४.० जिपिए ल्याउने विद्यार्थीलाई सत प्रतिशत भर्ना तथा मासिक शुल्क छुट दिने निर्णय गरेको छ। यस्तै, ३.६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई सत् प्रतिशत भर्ना शुल्क र ५० प्रतिशत मासिक शुल्क छुट दिने व्यवस्था गरिएको प्रधानाध्यापक हरि क्षेत्रीले बताए।

यसका साथै, विद्यालयका प्रधानाध्यापकको सिफारिसमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको अवसर दिइनेछ। राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने विद्यार्थीहरूलाई पनि सत् प्रतिशत छुटसहितको छात्रवृत्तिको सुविधा उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताए।

विशेष योजनाहरूले थप अवसर

विद्यालयले शिक्षासँगै आम्दानी गर्न सक्ने ‘सिक्दै कमाउने कार्यक्रम’ पनि सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत कक्षा ११ र १२ का आत्मनिर्भर विद्यार्थीहरूलाई खाली समयमा विद्यालयमै कार्य गरी आम्दानी गर्ने अवसर दिइनेछ।

त्यस्तै, ‘छिटोकी पहिले छात्रवृत्ति योजना’ अन्तर्गत कक्षा ११ र १२ सञ्चालनमा नरहेका छिमेकी विद्यालयका सबैभन्दा पहिले भर्ना हुने दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।

विद्यालयका प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्रीले भने, “हामी शैक्षिक नतिजामात्र होइन, अवसरको वातावरण पनि निर्माण गर्दैछौँ। मेहनती, प्रतिभाशाली तथा असल व्यवहार भएका विद्यार्थीहरूलाई पूर्ण समर्थन दिन हामी प्रतिबद्ध छौँ।”

शिक्षा र सम्भावनाको संयोजन

एरिस्टो इङ्लिस हाई स्कुलको यस वर्षको सफलताको सन्देश यहाँ गुणस्तरीय शिक्षा मात्र होइन, योग्य विद्यार्थीका लागि अवसरहरू पनि प्रशस्त छन् भन्ने सन्देश गएको प्रधानाध्यापक क्षेत्रीले बताए। शैक्षिक नतिजा, छात्रवृत्ति, र समावेशी योजनाले गर्दा यो विद्यालय स्थानीय स्तरमै एक आकर्षक शैक्षिक गन्तव्य बन्दै गएको उनले बताए।

विद्यालयले परीक्षा नतिजाका अलावा खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्रीले बताए। उनले शिक्षक, विद्यार्थी र अभिभावकको सद्‍भाव, मेहनत र सहकार्यबाट सबै क्षेत्रमा विद्यालयले प्रगति गरिरहेको बताए।

 

कमेन्ट लोड गर्नुस