सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हरियाली शहर बनाउने भन्दै कालोपत्रे सडक भत्काएर वृक्षारोपण

२०७६ साउन २, ०१:४९ रोशन भट्ट

धनगढी उप–महानगरपालिका क्षेत्रमा पर्यावरण जोगाउने, हरीयाली र सुन्दर शहर बनाउने भन्दै कालोपत्रे सडक भत्काएर वृक्षारोपण गरिएको छ। पर्यावरण संरक्षणका नाममा कालोपत्रे सडक समेत भत्काएर वृक्षारोपण गरी बजेट खर्च भइरहेको हो। स्थानीय तह, विभिन्न संघसंस्था र वन कार्यालयले वर्षेनी लाखौँको बजेट खर्च गर्दै सडक किनारसंगै सामुदायिक वनमा पनि वृृक्षारोपण गर्दै आएका छन्। सडक भत्काउदै वृक्षारोपण गरिएपछि बजेट सक्ने जुक्ती मात्र भएको आरोप लाग्दै आएको छ भने पर्यावरण संरक्षणका दृष्टिकोणले महत्वपूर्ण ठानिएका विरुवा भने रोपिएका छैनन्।

उप–महानगरपालिकाको वडा नम्बर ५ जाईको लब्लीचौक देखि नयाँ कालोपत्रे गरिएको सडक भत्काएर एक सय २० विरुवा रोपिएको छ। सघन शहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएको उक्त सडकमा झण्डै २ लाख बजेट खर्च गरेर चाँदनी, अशोक लगायतका विरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष डण्डीराज सुवेदीले बताए। वडा नम्बर ४ को रातोपुल देखि शिवपुरी धाम सम्म धनगढी उप–महानगरपालिकाले एक लाख ५३ हजार बजेटमा जम्मा ८४ ओटा विरुवा रोपिएको छ।

लामो समयको प्रतिक्षा, संर्घष तथा रस्साकस्सी पछि कालोपत्रे गरिएका सडक नै भत्काएर वृक्षारोपण गरिएपछि स्थानीयले विरोध समेत जनाएका छन्। सुरुमा सडक बनाउने र त्यसपछि सोही सडक भत्काएर वृक्षारोपण भएपछि एकातिर सडक दिगो हुनेमा आशंका बढेको छ भने अर्को तिर सडकमै रोपिएका विरुवा संरक्षण हुनेमा पनि आशंका बढेको छ। पर्यावरण संरक्षणमा टेवा पु¥याउने, शहरको सुन्दरता बढाउने, फलफुल लाग्ने खालका विरुवालाई नरोपिएको आरोप धनगढीका स्थानीय मदनकृष्ण भट्टको छ।

हुनत त सडक निर्माणकै क्रममा वृक्षारोपण, फुटपाथ लगायत आवश्यक पर्ने संरचना बनाउनका लागि ठाउँ छोड्नुपर्ने भएपनि त्यो हुन सकेको छैन्। ग्रीन, क्लिन धनगढीको नारा बोकेको धनगढी उपमहानगरपालिकाले वृक्षारोपणका नाममा विभिन्न संघसंस्थालाई  वर्षेनी ठुलो बजेट दिदै आएको छ तर साघुरो सडक क्षेत्रमा रोपिएका विरुवाका कारण आवातजावातमा समेत समस्या हुने देखिएको छ। तर धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिरा सिंह पातलीले भने जग्गा पाउन मुस्कील हुन थालेपछि सडक छेउमानै वृक्षारोपण गरिएको बताए।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस