सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

यी विषय पढ्नेले पाउँछ्न् छात्रवृत्ति 

२०८२ असार ९, ०९:५४ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम १३ औं नगर सभाबाट असार ७ गते पारित भएको हो।

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि दुई जना दलित अभियानकर्ताको नाममा छात्रवृत्ति दिने भएको छ। धनगढीका दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको नाममा छात्रवृत्ति योजना सुरू हुने भएको हो। नगर सभाबाट पारित भएको वार्षिक नीति तथा कार्यक्रममा दलित अभियन्ता जुठे दमाई योजना छात्रवृत्ति तथा दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति योजना घोषणा गरिएको छ।

यी दुबै छात्रवृत्ति योजना अन्तर्गत धनगढीमा स्थायी बसोबास भएका दलित समुदायका छात्राहरूलाई स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति दिइने छ। शिक्षित आमाको कारण सम्पूर्ण परिवार र सामाज नै शिक्षित हुने भएकाले पछाडि परेको दलित समुदायलाई अगाडि बढाउन सकियोस् भनेर दुई जना अग्रज दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको सम्मानमा छात्रवृत्ति योजना ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए। उनले जातीय भेदभाव निर्मुल गर्न शिक्षाले काम गर्ने भएकाले दलित छात्राहरूलाई स्नातक तहसम्म अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने बताए।

यी विषय पढ्नेले पाउँछ्न् छात्रवृत्ति 

दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति योजना अन्तर्गत धनगढी दलित छात्राहरूलाई वार्षिक दुई हजार रुपैयाँ बराबरको स्टेसनरी प्रदान गरिने छ। स्टेसनरीको अभावले अध्ययन गर्न समस्या नहोस् भनेर कक्षा ८देखि १२ सम्मका सम्पूर्ण दलित छात्राहरूलाई वार्षिक दुई हजार रुपैयाँको स्टेसनरी दिने योजना ल्याइएको नगर प्रमुख हमालले बताए।

यस्तै, कक्षा ११/१२ तथा स्नातक तहमा शिक्षा, कानुन, विज्ञान र कृषि विषय अध्ययन गर्ने धनगढीका दलित छात्राहरूलाई पनि छात्रवृत्ति दिइने छ। शिक्षा, विज्ञान, कृषि र कानुन विषयमा स्नातक उत्तीर्ण हुनासाथ रोजगारीको सम्भावना बढी भएकाले ती विषयमा छात्रवृत्ति दिइने भएको हो। महिला सशक्तीकरणसँगै दलित समुदायको क्षमता र पहुँच विस्तार गर्न छात्रवृत्ति योजना ल्याइएको नगर प्रमुख हमालले बताए।

'छात्रवृत्ति योजनाले दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वृद्धि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवद्र्धन गर्न कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजारसम्मको स्टेश्नरी सामाग्री निःशुल्क उपलब्ध गराइने छ,' उनले भने, 'कक्षा ११/१२ तथा स्नातक तहमा शिक्षा, विज्ञान, कानुन र कृषि विषय अध्ययन गर्न छात्रवृत्ति दिइने छ।'

'छात्रवृत्ति योजनाले दलित समुदायको उत्थान हुने'

धनगढी उपमहानगरपालिकाले प्रदान गर्ने भनेको दलित छात्रा छात्रवृत्ति योजनाले शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुगाउने विश्वास गरिएको छ। दलित महिला  अधिकार मञ्चका अध्यक्ष साबित्रा घिमिरेले उपमहानगरले दिने भनेको दुईवटा छात्रवृत्तिले आर्थिक, सामाजिक र शैक्षिक रुपले पछाडि परेको दलित समुदायलाई अगाडि बढ्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

उनले धनगढी उपमहानगरपालिकाले जस्तै अन्य पालिकाले पनि दलित महिलाको शिक्षामा पहुँच विस्तार गर्न छात्रवृत्ति योजना ल्याउन सके झनै राम्रो हुने बताइन्। 'धनगढी उपमहानगरपालिकाले दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको नाममा घोषणा गरेको छात्रवृत्ति योजना एकदमै राम्रो छ। यसले आर्थिक, सामाजिक र राजनीतिक रुपले पछाडि परेको दलित समुदायको उत्थान गर्न सहयोग गर्ने मेरो विश्वास छ,' उनले भनिन्, 'धनगढी उपमहानगरपालिका जस्तै अन्य पालिकाले पनि दलित महिला लक्षित छात्रवृत्ति योजना ल्याए दलित समुदायको सशक्तीकरणमा सहयोग पुग्ने थियो।'

धनगढी उपमहानगरपालिकाले दलित आन्दोलनका प्रमुख दुई जना नेता जुठे दमाई र टीकाराम पार्कीको सम्मानमा छात्रवृत्ति योजना घोषणा गर्नु समग्र दलित आन्दोलन र समुदायकै सम्मान र गौरवको विषय रहेको दलित अभियन्ता एवं नेपाली काँग्रेस डोटीका नेता कुमारसिंह टेलरले बताए। उनले नगर प्रमुख गोपाल हमालले दलित आन्दोलनका अग्रजहरूको नाममा गरेको सम्मान अरूका लागि पनि सिकाइ हुने विश्वास व्यक्त गरेका छन्।

'दलित आन्दोलनका पहिलो पुस्ताका नेताहरूको सम्मानमा धनगढी उपमहानगरपालिकाले छात्रवृत्ति योजना सार्वजनिक गर्नु सकारात्मक कुरा हो,' उनले भने, 'दलित आन्दोलनका नेताहरूको नाममा छात्रवृत्ति घोषणा गर्ने मेयर हमाल सम्भवतः पहिलो जनप्रतिनिधि हुन्। यो उत्तम कार्य अरुका लागि पनि प्रेरणा बन्नेछ भने दलितका नाममा ठग्ने कामको पनि अन्त्य हुनेछ भन्ने मेरो विश्वास छ।'

यस्तै, गरिबी निवारण कोषका पूर्व सदस्य वसन्त बागचन्दले धनगढीका दलित आन्दोलनका अगुवा जुठे दमाई र टीकाराम पार्कीको नाममा घोषणा भएको छात्रवृत्ति योजना ऐतिहासिक रहेको टिप्पणी गरेका छन्। उनले नगर प्रमुख हमालले दलित आन्दोलनका ओझेलमा परेका नेताहरूलाई पहिचान दिलाउने सद्प्रयास गरेको बताए। नगर प्रमुख हमालले घोषणा गरेको दलित छात्रा छात्रवृत्ति योजनालाई अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी एवं सामाजिक आन्दोलनको रुपमा आफूले बुझेको बागचन्दले बताए।

'अहिलेसम्म समाज र राजनीतिको नजरअन्दाजमा परेका दलित आन्दोलनका अगुवा जुठे दमाई र टीकाराम पार्कीको योगदानको कदर धनगढी उपमहानगरपालिका र मेयर हमालले गर्नुभएको छ। यो ऐतिहासिक, क्रान्तिकारी र अहिलेसम्मकै उत्कृष्ट काम हो,' उनले भने, 'अहिले पिछडिएका, विभेदमा परेका समुदायका अभियन्तालाई उजार गर्ने काम भएको छ यो सामाजिक क्रान्ति पनि हो। मेयर हमालले सामाजिक क्रान्ति गर्नु भएको छ।'

को हुन् जुठे दमाई र टीकाराम पार्की?
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका स्वर्गीय जुठे दमाई २०२७ सालमा डोटीबाट धनगढी बसाई सरेका थिए। उनी परिवारसहित डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ बाट धनगढी बसाई सरेका थिए। पञ्चायत कालमा जुठे दमाईले दलित तथा विपन्न समुदायको हकहितका लागि आवाज उठाउने काम गरेको उनका भतिजा कुमारसिंह टेलर बताउँछन्।

तत्कालीन समयमा छुवाछूत तथा जातीय विभेद चरम उत्कर्षमा रहेको र त्यसका विरुद्ध काका  जुठे दमाईले दलित युवाहरूलाई संगठित गराएको कुमार बताउँछन्। जुठे दमाईको अगुवाईमा जमिन्दारले कब्जा गरेको जग्गा दलित तथा विपन्न समुदायका परिवारलाई वितरण गरिएको बताउँछन् पशुपति टोलका वसन्त बागचन्द।

उनले पशुपति टोल लगायत कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा दलित र विपन्नलाई जग्गा तथा आवास उपलब्ध गराउन जुठे दमाईले संघर्ष गरेको तथा सफल भएको बताए। जुठे दमाईले छुवाछूत, जातीय विभेद र अन्यायमा परेका दलित तथा विपन्न समुदायका व्यक्तिका लागि पैरवी तथा कानुनी तथा प्रशासनिक सहयोग समेत गरेको बागचन्द बताउँछन्।

दमाईकै अगुवाइमा सर्वप्रथम पञ्चायत कालमै धनगढीमा “राष्ट्रिय जन विकास परिषद्“ स्थापना गरेर दलितका मुद्धा उठान गर्ने औपचारिक कामको थालनी भएको बागचन्द बताउँछन्। जुठे दमाई उक्त परिषद्को संस्थापक उपसभापति थिए भने टीकाराम पार्की सभापति थिए। टीकाराम पार्की दलित समुदायका अग्रज अभियन्ता हुन्। उनको जन्म डोटीमा भएको थियो भने २०२७ सालको भोकमरीपछि उनको परिवार डोटीको सिलगढीबाट धनगढी–९ घुइयाँघाट सरेको थियो।

डोटी शैलेश्वरी मन्दिरका मुख्य बाजा बजाउने परिवारका सदस्य पार्की आध्यात्मिक विचारधाराका दलित अभियान्ता रहेको डोटी काँग्रेसका नेता कुमारसिंह टेलरले बताए। शैलेश्वरी मन्दिरको संसर्गमा रहेका कारण टीकाराम पार्की सन्त बनेर मन्दिर परिसरमै तपस्यामा बसेका थिए। उनले सन्त भएर तपस्या गरेपछि शैलेश्वरी मन्दिर प्रवेश गरेको कुमार बताउँछन्।

तत्कालीन समयमा छुवाछूत, जातीय विभेद र सामाजिक असमानता निकै व्यापक रहेको अवस्थामा टीकाराम पार्कीले छुवाछूत तथा जातीय विभेद अन्त्यका लागि संघर्ष गरेको वसन्त बागचन्दले बताए। टीकाराम पार्की र जुठे दमाईको अगुवाइमा सुरूमा राष्ट्रिय जन विकास परिषद् स्थापना भएको थियो भने त्यसपछि संस्थाको नाम परिवर्तन गरेर नेपाल राष्ट्रिय दलित कल्याण संघ खोलिएको बागचन्द बताउँछन्।

जुठे दमाई र टीकाराम पार्कीको प्रेरणाले आफूहरू पनि दलित आन्दोलनमा लागेको स्मरण गर्छन् कुमारसिंह टेलर। उनले दमाई र पार्कीकै कारण दलित समुदायलाई संगठित भएर छुवाछूत र जातीय विभेद विरुद्ध लाग्न प्रेरणा र मार्गदर्शन प्राप्त भएको बताए।
जुठे दमाई र टीकाराम पार्कीले बाचुञ्जेल दलित अधिकारका लागि काम गरेको भए पनि राजनीति नेतृत्वले बिर्सिएको बेला धनगढी उपमहानगरपालिकाले उनीहरूको योगदानको स्मरण गर्दै छात्रवृत्ति योजना घोषणा गर्नु उदाहरणीय कार्य भएको दलित समुदायका अगुवाहरूले टिप्पणी गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस