सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधीबिचको लफडाले अझै बजेट पारित भएन

२०७६ साउन २, ०१:०३ जनक विष्ट

बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेट पारित हुन सकेको छैन्। स्थानीय सरकार सञ्चालन ऐनले तोकेको समय सीमा भन्दा ढिलोगरी असार ३१ मा नगरसभामा बजेट प्रस्तुत गरेको नगरपालिकाले जनप्रतिनिधीबिचको लफडाले  पारित गर्न नसकेको हो।

नगर प्रमुख केशब बहादुर चन्दले आफ्नो लागी विलासी गाडी खरिदका लागि बजेट विनीयोजन गरेको भन्दै नेकपाका ३८ जना बहुमत कार्यपालिका सदस्यले संशोधन गर्न माग गरेका थिए। तर नगर प्रमुख चन्दले बजेट संशोधन गर्न नसकिने भन्दै सभा स्थगीत नै नगरी हिडेको आरोप लागेको छ। पाटन नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ९ का अध्यक्ष लोक बहादुर भण्डारीले नगर प्रमुख चन्दले विलासी गाडी खरिद, जेसीबी खरिद र पेट्रोल पप्प सञ्चालन गर्ने भन्दै तीन करोड बजेट छुट्याईएपछि विवाद भएको बताए।

भण्डारीले नगरपालिकासंग नगर प्रमुखले चढ्ने गाडी र जेसिबी भएपनि फेरी खरिद गर्ने भन्दै बजेट विनीयोजन गरिएपछि ३८ जना बहुमत कार्यपालिका सदस्यले संशोधनको माग गरेको बताए। तर नगर प्रमुख चन्दले भने बजेट संशोधन गर्न नसकिने तर्क दिदै सभा स्थगीत भएको घोषणा समेत नगरी बाहिरिएको आरोप भण्डारीले लगाए।

यता नगर प्रमुख केशव बहादुर चन्दले भने कार्यपालिका सदस्यहरुले बहुमतको दम्भ देखाएको बताए। चन्दले नगरपालिकाको आवश्यकता भएकै कारण जेसिबी, गाडी खरिद र पेट्रोल पप्प सञ्चालनका लागि बजेट विनीयोजन गरिएको जनाए।

नगरसभा स्थगीत नगरी बाहिरिएको आरोपको खण्डन गर्दै नगर प्रमुख चन्दले दोस्रो दिन बस्ने गरी स्थगीत गर्दै आफू बाहिरिएको दावी गरे। उनले फेरी कार्यपालिका बैठक डाकेर छलफलको माध्यमबाट समस्याको समाधान गरिने बताएका छन्।

नगरपालिकाले असार ३१ गते ५२ करोड ४८लाख बराबरको बजेट ल्याएको थियो। पाटन नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएपनि कार्यपालिकामा भने नेकपाको बहुमत छ। ५५जना कार्य पालिका सदस्य मध्ये ३८ जना नेकपा र १७ जना नेपाली कांग्रेसका कार्यपालिका सदस्य छन्। गत वर्ष पनि बजेटमा विवाद भएपछि असोजमा मात्रै पारित भएको थियो। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस