सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वर्षमै चितवनमा ४३ गैँडासहित ७७ ओटा वन्यजन्तु मरे

। फोटो स्रोत ।
२०७६ साउन १, १०:०८

चितवन राष्ट्रिय निकुञ्जमा गएको एक वर्षमा ४३ ओटा गैँडासहित ७७ ओटा वन्यजन्तु मरेका छन्। गैँडाबाहेक एक वर्षको अवधिमा आठ ओटा बाघ, १४ ओटा चित्तल, ३ ओटा बँदेल र ९ ओटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ। चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार विसं २०७५ साउनदेखि विसं २०७६ असार मसान्तसम्मको अवधिमा ४३ ओटा गैँडा मरेका हुन्। एक वर्षमा यति धेरै गैँडा मरेको यो पहिलो घटना हो।

सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा शिकारीले एकै वर्षमा ३७ वटा गैँडा मारेका थिए। विसं २०७५र०७६ मा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ३४ ओटा, मध्यवर्ती क्षेत्रमा ७ ओटा र डिभिजन वन चितवनभित्र २ ओटा गैँडा प्राकृतिक कारणले मरेका छन्। एक वर्षमै यति धेरै गैँडा मर्नु संवेदनशील विषय भएको र यो विषयमा कारणको खोजी र अध्ययन भैरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। प्राकृतिक कारणले गैँडाको मृत्युदर बढ्दै गएको बताउँदै अधिकृत ढकालले भन्नुभयो, ‘गैँडा एक आपसमा जुधेर, घोलमा फसेर, बाघको आक्रमणमा परेर, ढिस्कोबाट खसेर, बच्चा पाउन नसकेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मरेको हो।

प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन्।’ मरेका गैँडामध्ये आधा संख्या गैँडाको कुहिएर हाडखोरमात्र फेला परेको बताउँदै प्रमुख संरक्षण अधिकृत ढकालले मरेकामध्ये २३ ओटा गैँडा के कति कारणले मरेको हो भन्ने पत्ता लाग्न नसकेको जानकारी दिए। मरेका मध्ये १९ ओटा गैँडाको कुहिएका कारण लिङ्ग पहिचान हुन समेत नसकेको जानकारी दिँदै उनले भने, ‘निकुञ्जले चालु आर्थिक वर्षमा पटक–पटक गरी निकुञ्जमा ‘स्विप अपरेसन’ गरेका कारण पहिले मरेका धेरै गैँडा पनि यस पटक फेला परेको हुन सक्ने बताए। ’ दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए। ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए।

बाढीले बगाएको ९ ओटा गैँडा निकुञ्जले भारतबाट ल्याएको प्रमुख ढकालले जानकारी दिए। बाढीले बगाउँदा अलमलमा परेर वा स्वास्थ्यमा आएको खराबीले पनि गैँडा मरेको अनुमान निकुञ्जले गरेको छ। चोरी शिकारीका कारण निकुञ्जमा वन्यजन्तु मर्ने क्रम घट्दै गए पनि प्राकृतिक कारणले मर्नेको संख्यामा भने कमी आएको छैन। निकुञ्जमा वन्यजन्तु संरक्षणमा सफलता मिले पनि घाइते र अशक्त अवस्थामा भेटिएका वन्यजन्तुलाई बचाउन नसक्नु मुख्य चुनौती बन्दै गएको छ। जंगली जनावरहरू एकआपसमा जुध्ने र विभिन्न प्रकारले घाइते अवस्थामा भेटिएर उद्धार गरी उपचारको अथक प्रयास गर्दा पनि कमैलाई मात्र बचाउन सकिएको छ।

निकुञ्ज र सँगै जोडिएका मध्यवर्ती वन क्षेत्रमा पर्ने सडकमा सवारीले ठक्कर दिएर पनि केही जनावर मरेका छन्। साथै विषादी प्रयोग भएका वस्तु खाएका कारण पनि जनावर मर्दै आएका छन् । वन्यजन्तु अस्पताल सञ्चालनमा आएपछि घाइते अवस्थामा भेटिएका जनावरलाई समयमै प्रभावकारी उपचारका लागि अस्पताल लगेर बचाउन सकिने प्रमुख ढकालले बताए। वन्यजन्तु संरक्षणका लागि निकुञ्ज आसपासका क्षेत्रमा विकासका काम गर्दा वन्यजन्तुको बासस्थानमा असर नपर्ने गरी गरिनुपर्ने उनले बताए।

विकासको काम गर्दा वन्यजन्तुको बासस्थान ख्याल नगरी हाइटेन्सन लाइन राख्ने, वन्यजन्तु अनुकूल बाटो नहुने तथा विषादीकोे प्रयोग पनि वन्यजन्तु मृत्युका कारण भएको ढकालले जानकारी दिए। निकुञ्जमा विसं २०७४ असारदेखि विसं २०७५ साउनसम्मको एक वर्षको अवधिमा प्राकृतिक कारणले २६ ओटा गैँडा मरेका थिए। गैँडाको औसत आयु ६० वर्ष हुन्छ। पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ ओटा गैँडा छन्।
 

कमेन्ट लोड गर्नुस