सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएका गिरी धनगढीमा मृत फेला

२०८२ जेठ ३१, ०३:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी मृत अवस्थामा फेला परेका छन्।

भारतको मुम्बईबाट बिहिवार दिउँसो ३ बजे डोके बजार पुगेका गिरीलाई शुक्रवारदेखि खोजतलास गरिरहँदा आज मृत अवस्थामा फेला परेका हुन्। उनी बिहिवार राति धनगढी उपमहानगरपालिका–३ विशालनगरको नाला नजिकै हिलाम्मे रूपमा अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा रहेका गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लैजाने क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

भारतबाट बिहिवार ३ बजे डोके बजार पुगेका गिरीसँगै रहेका अन्य तीनजना साथीले डोके बजारमा रहेको कार्की होटलमा खाजा र मदिरा खाएको पारिवारिक स्रोतबाट खुल्न आएको छ।

खाजा खाइसकेपछि गिरी बेपत्ता भएका थिए। साँझसम्म पनि घर नफर्किएपछि घरपरिवारले शुक्रवार बिहानैबाट उनको खोजी तलासी सुरु गरेको थियो। उनको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा खोजतलासीका लागि फोटोसहित हुलिया काटेको थियो।

मृतक गिरीको पहिचान नखुलेपछि प्रहरीले शव सेती प्रादेशिक अस्पतालको शव गृहमा सुरक्षित राखेको थियो। अहिले मृतकका परिवारले शवको सनाखत गरी पोस्टमार्टमको प्रक्रियामा रहेको उनका आफन्तले बताएका छन्।

मृतक गिरी तीन वर्षपछि भारतको मुम्बईबाट घर फर्कँदै थिए। उनका एक छोरा र एक छोरी छन्।

 

कमेन्ट लोड गर्नुस