कानुन विपरित होटलमा छापा हानेर पक्राउ गर्दै कैलाली प्रहरी
मुलुकी अपराध संहिताले जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाउने व्यवस्था गरेपनि कैलालीमा त्यस्को उल्लघन भएको छ। ऐनको परिच्छेद–१५ को गैरकानूनी थुना सम्बन्धी दफामा बदनियतपूवर्क थुनछेक गर्न नहुने उल्लेख छ। अपराधमा सामेल भएको पक्का भए पनि प्रहरीले कसुरदारलाई पक्राउ गरिहाल्न नमिल्ने दफामा उल्लेख छ। पक्राउ गर्नु पहिले प्रहरीले कसुरदारलाई पक्राउ गर्नुको कारण खुलाई पक्राउ पुर्जी दिनुपर्ने व्यवस्था भएपनि कैलालीमा भने प्रहरीले मध्यरातमा होटलमा छापा हान्दै संकाकै भरमा पक्राउ गरिरहेको हो।
अधिवत्ता गम्भिरसिंह ऐरले कुनै पनि व्यक्तिलाई अदालतको आदेश भएपनि सुर्योदय भएपछि र सुर्यास्त हुन पुर्व मात्रै पक्राउ गर्न पाउने व्यवस्था रहेको बताए। ‘मध्यरातमा कसैलाई तर्साउने गरि छापा हान्ने अधिकार पनि प्रहरीसंग छैन्,’ उनले भने, ‘पक्राउ गर्नुपूर्व नै कसुरदारलाई कुन अभियोगमा पक्राउ गर्न लागिएको हो त्यो बारेमा पक्राउ पुर्जी दिनुपर्ने अनिवार्य व्यवस्था रहेको छ।’ पक्राउ गर्नुपर्ने कारण र व्यक्तिको विवरण सहित अदालतबाट पक्राउ पुर्जी लिएर मात्रै अभियोगीलाई पक्राउ गर्नुपर्ने व्यवस्था ऐनमा रहेको उनले बताए। आपतकालिन अवस्था अर्थात गम्भिर प्रकतीको अपराधमा संग्लन भएको भए र अपराधी भाग्न सक्ने खतरा छ भने मात्रै प्रहरीले आफै पक्राउ पुर्जी जारी गरेर २४ घण्टाभित्र पक्राउ गरेको समर्थन लिन अदालतमा हाजिर गराउनै पर्ने व्यवस्था पनि ऐनमा रहेको उनले बताए।
यस्तै २० बर्ष पुगिसकेका युवा युवतीले सहमतीमा शारिरिक सम्वन्ध राख्न पाउने व्यवस्था समेत कानुनमा भएपनि कैलाली प्रहरीले भने होटलका कोठामा बसेकै भरमा उनीहरुलाई पक्राउ गरि मानव बेचविखनमा मुद्धा चलाईरहेको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने कानुनको गलत व्याख्या गर्दै होटलबाट पक्राउ गरिरहेको बताएको छ। प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले होटल सार्वजनिक स्थानमा भएकाले पक्राउ पुर्जी विना पनि पक्राउ गर्ने अधिकार प्रहरीसंग रहेको दावी गरे। कैलाली प्रहरीले चार दिनको अवधीमा मात्रै धनगढी र अत्तरियाबाट ८ जनालाई देहव्यापारमा संग्लन रहेको भन्दै पक्राउ गरिसकेको छ।