सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मेल्लेखका कृषकहरू अर्गानिक उत्पादनतर्फ आकर्षीत 

तस्बिरः गोरखापत्र
तस्बिरः गोरखापत्र
२०८२ जेठ २९, ०४:२४

अछामः अछामको मेल्लेखका कृषकहरू अर्गानिक उत्पादनतर्फ आकर्षीत छन्।

त्यहाँका किसानहरू रासायनिक, विषादीरहित तरकारी खेती गर्नतर्फलागी परेका हुन्। विषादीको प्रयोगले गर्भवती, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि कृषकहरू अर्गानिक तरकारी खेतीमा उन्मुख भएका हुन्। कृषकहरूलाई वल्र्ड भिजन इन्टरनेसनल नेपाल र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाले अर्गानिक उत्पादनमा जोडेको हो। 

स्याउला तथा गाई, भैँसीको मलमूत्रबाट तयार गरिएको झोलमलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेको मेल्लेख गाउँपालिका ६, षोडशास्थित नवाँघरको सेराटोलका कृषक प्रेम बहादुर खड्काले बताए। अर्गानिक तरकारी उत्पादन समुहका सदस्यसमेत रहनुभएका खड्काले बारीमा काँक्रा बाली, गोलभेडा, आलु, काउली, बन्दा लगायतका तरकारी खेती गरिरहनुभएको छ।

तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मूत्रलाई जैविक विषादीको रुपमा प्रयोग गर्दै आएको उनले बताए। जलवायुमैत्री कृषि पाठशाला कक्षा निरन्तर २१ हप्ता सञ्चालन भई समुदायका कृषकहरूले तरकारी खेती लगाउन सामान्य जानेका थिए। तर वाक नेपालले कार्यक्रम सञ्चालन गरिसकेपछि प्राविधिक तरिकाले तरकारी लगाउन जानेका छन् कृषक पाठशालामार्फत तालिम पाएपछि विभिन्न किसिमका मौसम तथा बेमौसमी तरकारी उत्पादन गर्न सुरु गरेका हौँ समूहका सदस्य झरना खड्काले बताए। 

उनले भने, “अहिले आफूमा पनि परिवर्तन आएको छ स्थानीय स्रोत साधनको प्रयोग गरेर तरकारी खेती गर्ने तरकारी खाने बानीको विकाससँगै बालबालिकाहरुलाई पनि तरकारी खुवाउने र बचेको तरकारी श्री षोडशा आधारभूत विद्यालयमा दिवा खाजाको रुपमा तरकारी दिने गरेका छौँ।’ 

अर्गानिक तरकारी उत्पादन गरेर खाने गरे पछि बालबालिकाको पोषणमा सुधार भएको छ। समुदायका २५ जना महिलाहरुले तरकारी बिक्री गरेको पैसा बालबालिकाको खुत्रुके बचतसँगै सहकारी र बैँकमा पनि बचत गर्दै आएका छन्।झरना खड्का जस्तै उक्त समूहमा स्थानीय २५ जना कृषक आबद्ध छन्। समूहमा आबद्ध सबै कृषकहरुले तरकारी खेती गरि रहेको स्थानीय मनसरा खड्काले बताए।

उनले भने, “कृषकहरूलाई परियोजनाले २१ हप्ता जलवायुमैत्री कृषि पाठशालामार्फत तालिम प्रदान गरेको छ।“ योसँगै तरकारीको बिउँ, हेन्डस्प्रे, प्लास्टिक टनेल, क्यारेट, दाँते, रेक, गड्यौला मल, थोपा सिंचाइ झोलमल तयार पार्ने ड्रम, गाईगोरु तथा पशुको मूत्र सङ्कलन ड्रम तथा प्रविधि सहयोग गरेको छ। परियोजनाले सोही समूहका २५ जना कृषकलाई प्लास्टिक टनेल प्रदान गरेको छ।

षोडशा जस्तै मेल्लेख गाउँपालिकाको ७ नन्देगडा स्थित हरीयाली तरकारी उत्पादन समूहमा पनि २५ कृषक आबद्ध छन्। समूहमा आबद्ध कृषकहरुले अर्गानिक तरकारी उत्पादन गरि रहेको समूहका सचिव ईश्वरी खड्का महरले बताए।परियोजना एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना ८ वडामा सञ्चालित छ।

समूहमा आबद्ध कृषकहरुलाई झोलमल, बायोचार बनाउन, गँड्यौला मल बनाउन मल्चिङको प्रयोग गर्न, स्थानीय स्रोत साधनको मल्चिङ प्रयोग गर्न बनाउने विधि र प्रयोगका तरिका सिकाइएको परियोजनाका सामाजिक परिचालक दीपिका ओडले बताए। उनले भने, “परियोजना मार्फत मेल्लेख गाउँपालिका ६ र ७ मा १७ वटा समूह गठन भएका छन्।“ जसमध्ये २ वटा समूहमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन गरिएको उनले बताए। कृषकहरुलाई तरकारी खेती, बाख्रा पालन, गँड्यौला मल बनाउने उत्पादनमा सहयोग गरि रहेको सामाजिक परिचालक ओडले बताए।

परियोजनाले षोडशा र नन्देगडा गरि दुई समूहका ५० जना कृषकलाई तरकारी खेती, समूह अवधारणा, समूहको लेखाजोखा, जलवायु परिवर्तन, सुनौला हजार दिनका आमालाई पोषणसम्बन्धी तालिम प्रदान गरेको परियोजनाका सामाजिक परिचालक ओडले बताए। उनले परियोजना मार्फत कृषकहरूलाई अर्गानिक उत्पादनमा जोडेको बताए।

सुरुमा सामान्य तरिकाले तरकारी खेती गर्दै आएका कृषकहरु तालिम पाएपछि बेमौसमी तथा मौसम अनुकूल तरकारी उत्पादनमा प्राविधिक दक्षता हासिल गरेको हरियाली तरकारी उत्पादन समूहका सदस्य मथुरा देवी सार्कीले बताए। उनका अनुसार जलवायु मैत्री कृषक पाठशाला पछि कृषकहरुले आफूले उत्पादन गरेका ताजा तरकारीहरु घरमै उपभोग गर्ने गरिएको छ। अहिले हामीहरूले बालबालिकालाई पनि नियमित रुपमा तरकारी खुवाउन थालेका छौँ।

उनले भने, “अर्गानिक उत्पादनले बालबालिकाको पोषण स्तरमा समेत उल्लेखनीय सुधार ल्याउने जानकारी  पाएका छौँ। “यस्तै, बाँकी रहेका तरकारीहरू स्थानीय श्री पुरानाकोट आधारभूत विद्यालयमा दिवा खाजाको रूपमा प्रदान गरिँदैछ, जसबाट विद्यार्थीहरूलाई पोषणयुक्त भोजन सुनिश्चित गराइएको छ। साथै, तरकारी बिक्रीबाट आएको आम्दानीको केही अंश समुदायका ५० जना महिलाले खुत्रुके बचत, सहकारी र बैँक खातामा पनि पैँसा जम्मा गर्दै आएका छन्। परियोजना मेल्लेख गाउँपालिकाका सबै वडामा सञ्चालन गरेको र उक्त क्रियाकलाप बारे गाउँपालिकाका जनप्रतिनिधि, परियोजनाका कर्मचारी सहितको टोलीले समय–समयमा स्थलगत अनुगमन गर्ने गरेको छ।

उक्त परियोजना सञ्चालन भएको मेल्लेख गाउँपालिका वडा नम्बर ७, नन्देगडाका वडा अध्यक्ष प्रेमबहादुर महरले भौगोलिक रुपमा विकट भए पनि पहाडी क्षेत्रमा उत्पादन हुने सबै रैथाने बाली, कृषि बालीहरु उत्पादन हुने बताए। हामी सङ्घ संस्थाले छोडे पनि गाउँमै भएकाले वडाले निरन्तरता दिनेछ यसलाई दिगो रूपमा लैजाने बताए।  हाल विभिन्न परियोजना मार्फत अति जोखिममा रहेका अति विपन्न, गरिब र दलित समुदायका घरपरिवारहरूको जीविकोपार्जनको लागि अछाम जिल्लामा काम गर्दै आएको वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरले बताए।

कमेन्ट लोड गर्नुस