कञ्चनपुरमा ४८ लाख जरिवाना ताकिएका दुई फरार प्रतिवादी पक्राउ

धनगढीः कञ्चनपुरमा ४८ लाख जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाअनुसार, बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका दुईजनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका–१ बस्ने ५२ वर्षीय रामबहादुर गिरी थारु र पुनर्वास नगरपालिका–८, खड्डा बस्ने ४२ वर्षीय मिलन राना रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालतले थारुलाई एक वर्ष १० महिना ७ दिन कैद सजाय र २५ लाख ४० हजार ५२२ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो।

यस्तै रानालाई २२ लाख ८३ हजार आठ सय जरिवाना तोकिएको थियो। अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले फरार रहेका दुई प्रतिवादीलाई मंगलवार पक्राउ गरेको छ। उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पेश गरिने प्रहरीले जनाएको छ ।
