सुदूरपश्चिम प्रदेशमा अटिजम सम्बन्धि अन्तरमन्त्रालय संवाद सम्पन्न

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले डिसएबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा “सुदूरपश्चिम प्रदेश अन्तरमन्त्रालय संवाद” कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम अटिजम भएका व्यक्तिहरूका लागि समावेशी नीति, कार्यक्रम तथा बजेटका सन्दर्भमा केन्द्रित थियो। सामाजिक विकास मन्त्री मेघराज खडका प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्रिय अटिजम केयर सेन्टरका अध्यक्ष श्री रमेश बस्नेतले अध्यक्षता गरेका हुन्।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना विशेष अतिथि थिइन्। कार्यक्रममा सामाजिक मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले सहजीकरण गरेका हुन्।

अपाङ्गता समावेशी विकास विज्ञ कृष्ण गहतराजले सरकारका प्रतिबद्धतालाई व्यवहारिक कार्यान्वयनमा ल्याउनु सबै तहका सरकारहरूको दायित्व भएको बताएका थिए।

कार्यक्रममा प्रदेश प्रमुख सचिव डा. कमल पोखरेल र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले समेत प्रस्तुतिहरू दिएर संवादलाई थप अन्तरक्रियात्मक बनाएका थिए।
असारमा सार्वजनिक गर्न लागिएको नीति तथा कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित उक्त संवादले सकारात्मक अभ्यासको सुरुवात गरेको बताइएको छ। अटिजम भएका बालबालिकाहरूलाई प्राथमिकतामा राखेर आवश्यक हेरचाह, शिक्षा, र जीवनयापनका कार्यक्रम तर्जुमा गरिएको जानकारी समेत दिइएको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सबै मन्त्रालयका सचिव, कर्मचारी, विकास साझेदार, अपाङ्गता अधिकारकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिति थियो। मन्त्री खडकाले प्रदेश सरकारले सकारात्मक पहलकदमीहरू अगाडि बढाइसकेको जानकारीसमेत गराएका थिए।