आर्जु राणासहितको जम्बो टोली धनगढीमा, विकास सम्मेलनको छलफल

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको पूर्व तयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डाक्टर आर्जु राणा देउवा धनगढी आएकी छन्।
मङ्गलवार बिहान उनी विमानमार्फत धनगढी आइपुगेकी हुन्। परराष्ट्रमन्त्री राणालाई विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको टोलीले स्वागत गरेको थियो। प्रदेश सरकारले २०८२ असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मेलनको पूर्व तयारीको बैठक यही जेठ २० र २१ गते दुई दिनसम्म चल्नेछ। प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा. राणाबाट सम्मेलनमा सम्बोधन हुने कार्यक्रम तय गरिएको छ। उनीसँगै संस्कृत¸ पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डे¸ उद्योग¸ वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी¸ वन मन्त्री एन बहादुर शाही धनगढी आएका छन्।

प्रदेशको प्रचुर प्राकृतिक स्रोत, अपार सांस्कृतिक सम्पदा रणनीतिक भौगोलिक अवस्थिति, पर्याप्त आर्थिक विकासको सम्भावनालाई उजागर गरी रुपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारबाट प्रथम लगानी सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार संस्था, मित्र राष्ट्रहरू, व्यावसायिक प्रतिष्ठानहरू, स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू, नीति निर्माता, लगानीकर्ता, व्यावसायिक नेतृत्व, बैँक तथा वित्तीय संस्था, एनआरएनएका अग्रणीहरू, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, लगानी विद्, विषय विज्ञ, अनुसन्धानमूलक संस्था, स्थानीय उद्यमी, स्टार्टअप उद्यमीलगायतका सरोकारवालाहरू तथा मिडियाकर्मीको सक्रिय सहभागिताका हुने मुख्यमन्त्री शाहले बताए।

सम्मेलनमा उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, उर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरूमा लगानी प्रवर्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाई लगानी वृद्धि र नविन व्यावसायिक सक्रियता मार्फत समृद्धि, विकास र रोजगारीका अवसर अभिवृद्धि गर्नका लागि वातावरण सृजना गर्ने लक्ष्य लिइएको छ। ‘सुदूरपश्चिमको सशक्तीकरण ः लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्दैछ।