सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरैया शिविरमा ‘गुन्डाराज’ कायमै, मुकदर्शक प्रहरी प्रशासन

२०७६ साउन १, ११:३० खबर संवाददाता

कैलालीको हरैया स्थित सुकुम्बासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य छ दिनसम्म जारी रहेको छ। भाडाका बाउन्सर लगाएर सुकुम्बासी बस्तीमा गुन्डाराज भईरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बनेको छ। गुन्डागर्दी शैलीमा हरैयाका झुप्रा भत्काउने कार्यको चौतर्फी आलोचना हुँदा पनि प्रहरी–प्रशासन मौन बसेको हो। झण्डै २५ जना ‘बाउन्सर’ हरू भाडामा प्रयोग गरेर बिहीबारदेखि सुकुमबासी बस्ती भत्काउन सुरु भएको स्थानीयको आरोप छ। मंगलबारसम्म एक सय झुप्रा भत्काइएकोमा अव अझै ३० घर बाँकी रहेका छन्। उनीहरूले चक्कु, गैंची, हथौडा, करैंती बोकेर घर भत्काउने र कुटपिट गर्ने गरेका छन्। घर नभत्काउन आग्रह गर्दा उल्टै घाँटी च्यापेटर कुटपिट गरेको सुनिता चौधरीले बताइन्। विपद्ले घरबारविहीन बनाउँदा त राज्यले राहतसम्म दिने गरे पनि, आफूहरूलाई ‘गुन्डा’हरूले बिचल्ली बनाइदिँदा कसैले नहेरेको गुनासो स्थानीयको छ। घर भत्काइएपछि वर्षाले खाद्यान्नसहित लुगाकपडा भिजेपछि भोकभोकै बस्नुपरेको उनीहरूले बताएका छन्। साउन लाग्दै गर्दाको बर्खे झरीमा घर भत्काइएका सुकुमबासीहरूको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। गत बिहीबारदेखि सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ चलिरहँदा सुकुमबासी परिवार भोकभोकै छन्। 

हरैयास्थित सुकुम्बासीका घर–टहरामा आगजनी गर्ने, कुटपिट गर्ने र धम्की दिनेविरुद्ध राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्ट, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सचिव रुद्र कँडेल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै विरोध गरेका छन्। उनीहले विज्ञप्तिमा वर्षातमा बिचल्ली बनाउने गरी भइरहेको तोडफोड र आगजनी बन्द गर्न र सुकुमबासीहरूलाई बसोबासको व्यवस्था गर्न माग गरेका छन्।

दाङका उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किनेको थियो। जमिन किनबेच हुँदा कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल थिए। जमिन खरिदपछि सुकुमबासी हटाइदिन हाउजिङ सञ्चालक तथा तत्कालीन एकीकृत माओवादीका स्थानीय नेता प्रमुख जिल्ला अधिकारी रिजाल कहाँ धेरै पटक धाएका थिए। रिजालले द्वन्द्वकालीन राजनीतिक मुद्दा भएकाले सुकुम्बासीलाई हटाउन सहयोग गर्न सकेनन्। स्रोतका अनुसार सुकुमबासी हटाउन प्रमुख जिल्ला अधिकारी रिजालले नमानेपछि उनलाई सरुवा गर्ने खेल सुरु भएको थियो।

अन्ततः उनी २०७५ वैशाख १९ गते सरुवा भए। त्यसपछि कैलालीमा प्रमुख जिल्ला अधिकारीका रूपमा ऋषिराम तिवारीलाई खटाइए। उनी पनि हरैयाबाट सुकुम्बासी हटाउन पन्छिए। सुकुमबासी हटाउन अड्चन भएपछि ४५ दिनमै उनको पनि सरुवा भयो। तिवारीपछि २०७५ असार २५ गते हाजिर भएर बाबुराम श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी सम्हाले। यो घटनामा उनले पनि साथ दिएनन्। स्रोतका अनुसार श्रेष्ठलाई पनि सुकुमबासी हटाइदिन भन्दै नेताहरूबाट दबाब आएको थियो। उनलाई २०७५ चैत १३ गते सरुवा गरियो। त्यसपछि २०७५ चैत १८ गतेका दिन यज्ञराज बोहरालाई खटाइयो। कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले भने आफूले सुकुमबासी हटाउन कुनै अनुमति नदिएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस