सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सांसदको दवावमा मापदण्ड विपरीत निर्माण भएको सडकमा भुक्तानी

२०७६ असार ३१, ०७:४३ कमल सावद

एक करोड २६ लाख बजेट रहेको कुष्णपुर–मालुमेला–घोडाघाड–रैकवार–धनगढी सम्भावित रणनीतिक सडकलाई संघिय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। सो सडक प्रदेश पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीसंग ठेक्का सम्झौता गरेकोमा उपभोक्ता समिति गर्दै सम्झौता गरिएको छ। निर्माण कम्पनीसंग साढे दुई किलोमिटर सडक ग्रावेल र दुई वटा कल्भर्टका लागि ५९ लाख १० हजारमा निर्माण सम्झौता भएको थियो भने बाँकी ६० लाखको कामका लागि उपभोक्ता समिति गठन गरिएको थियो। उपभोक्ता समितिले दुई किलोमिटर आठ  सय २२ मिटर लम्बाई र १० मिटर चौडाईको सडक ग्रावेल गर्न पूर्वाधार कार्यालय धनगढीसंग सम्झौता गरेको थियो। तर सम्झौता र स्टीमेट अनुसारको काम नभएको उपभोक्ता समितिले नै स्वीकार गरेको छ। उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर ऐडीले स्टीमेट अनुसारको काम नभएको स्वीकार गरेका हुन्। उनले खुट्टामा चोट लागेकाले सडक ग्रावेल क्षेत्रमा नगएको तर निर्माण कम्पनीले काम गर्दा स्टीमेट अनुसारको नभएको बताए। स्टीमेट अनुसारको काम नभएको भन्ने सुनेपनि आफू नगएको बताउँदै उनले भने, ‘ठेकेदार र इन्जिनियरहरुले मिलाउदैछन भन्दै थिए, खैँ के भयो।’ 
डिपिआर नै नबनाईएको सडकको उपभोक्ता समितिले ४१ लाख ८० हजारको काम गरेको भन्दै पूर्वाधार कार्यालयले भुक्तानी दिएको छ। तर स्थानीयले सडकको चौडाई कम भएको भन्दै विरोध गरिरहेका छन्। उनीहरु काममा लापरवाही भएको भन्दै पूर्वाधार कार्यालय धनगढी पुगेका थिए। पूर्वाधार कार्यालय धनगढी पुगेका शान्तीनगरका स्थानीय हर्कबहादुर भण्डारीले नगरपालिकाले २० फिट भन्दा कम चौडाई भएका सडकमा ग्रावेलका योजनाहरु पनि नदिने नीति बनाएको बताए। तर प्रदेशको पूर्वाधार विकास कार्यालय मार्फत निर्माण  भएको ग्रावेल सडकको चौडाई १० फिट पनि नभएको उनले बताए। प्रदेशको नीतिको बारेमा जानकारी छैन्। तर कृष्णपुर नगरपालिकाले २० फिट भन्दा कम चौडाई भएका सडकमा  ग्रावेलका योजना पनि दिदैन्। उनले भने, ‘निर्माण कम्पनीले कल्भर्टको ठाँउमा ह्युम पाईप हालीएको स्थानीयले बताएका छन्। दुई कल्भर्ट निर्माण गर्न सम्झौता गरेको निर्माण कम्पनीले एकजनामा कम गुणस्तरको काम गरिरहेको र अर्काेमा ह्युमपाईप हालेको स्थानीयले बताए। स्थानीय मुकेश भट्टले कल्भर्टको ठाँउमा ह्युमपाइप हालिएको बताए। कृष्णपुर नगरपालिका क्षेत्रमा प्रदेश सरकारले दुई सडक निर्माण गरिरहेको भएपनि स्थानीयलाई जानकारी नभएको उनीहरुले बताएका छन्। 

जगदम्बा निर्माण सेवाले साढे दुई किलोमिटर सडक र दुई वटा कल्भर्ट निर्माणका लागि सम्झौता गरेको थियो। उपभोक्ता समितिलाई दिइएको बाँकी काम पनि जगदम्बा निर्माण सेवाले गरेको हो। सडक ग्रावेल स्टीमेट अनुसार नभएका बेला कल्भर्ट निर्माणमा पनि लापरबाही गरेको स्थानीयले बताएका हुन्। पूर्वाधार विकास कार्यालयका प्रमुख श्यामबहादुर खण्डकाले निर्माण कम्पनीले कल्भर्टमा लापरबाही गरेकाले भत्काइएको बताए। ‘कल्भर्ट निर्माणमा कम्सल सामाग्रीको प्रयोग भएपछि हामीले भत्काएका थियौ। निर्माण कम्पनीको पाँच लाख भन्दा बढिको क्षति भएको छ, फेरी पनि लापरबाही भए हामी पुनः निर्माण गर्न लगाउछौ।’ उनले भने। 
उक्त योजनामा कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका श्यामलाल रानाको स्वार्थ जोडिएकाले उपभोक्ता समितिले स्टीमेट अनुसारको काम नगरेपनि भुक्तानी दिइएको स्रोतले बताएको छ। सदस्य रानाले भुक्तानीका लागि प्रदेश पूर्वाधार कार्यालयलाई पत्रचार पनि गरेको खुल्न आएको छ।  तर कृष्णपुर नगरपालिका वडा नम्बर ७ शान्तीपुरका स्थानीय ग्रावेल सडकको चौडाई कम भएको भन्दै बिरोधमा उत्रिएका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस