सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा अपाङ्गता भएकालाई सहायक सामग्री अभाव

२०८२ जेठ १२, ०७:१६ खबर संवाददाता

कञ्चनपुरः यहाँको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री अभाव देखिएको छ।

सहायक सामग्री अभावमा  अपाङ्गता भएका व्यक्तिहरुलाई हिँड्डुल गर्न समस्या भएको छ। महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासङ्घको समन्वयमा आइतबार आयोजजित स्थानीय तह, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र नागरिक समाजका प्रतिनिधिहरुलाई अपाङ्गता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सहायक सामग्री अभाव हँुदा कष्ट सहनुपरेको गुनासो गरे। 

अपाङ्ग एकता समाज नेपालका अध्यक्ष हरिदत्त भट्टले नौ वर्षअघि दातृ निकायले उपलब्ध गराएका ह्विलचेयर, ट्राइसाइकललगायत सहायक सामग्री बिग्रिएर कामै नलाग्ने भएको गुनासो गरे। 'दातृ निकायले प्रदान गरेका ती सहायक सामग्री बिग्रिँदा मर्मत हुन सकेका छैनन्', उनले भने, 'पाटपूर्जा पाइँदैनन्, त्यसपछि कुनै निकायबाट सहायक सामग्री उपलब्ध हुन सकेको छैन।' नगरपालिकाले केही अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गराए पनि टिकाउ नभएको उहाँको भनाइ छ। 

स्थानीय तहमा सर्वदलीय संयन्त्र हुँदा अपाङ्गता भएका व्यक्तिहरुका लागि केही बजेट विनियोजन हुने गरेको स्मरण गर्दै जनप्रतिनिधि आएपछि बजेट विनियोजन रोकिएको बताए। 'स्थानीय तहले समानुपातिक तरिकाले बजेट विनियोजन गर्नु पर्दथ्यो, त्यो हुन सकेको छैन', उनले भने, 'हामीमाथि विभेद छ।'

स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुका लागि गठन हुने समितिको कार्यदलमा सदस्य भए पनि पटकपटक अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि तीन÷तीन पटक प्रस्ताव लगेर दर्ता गर्दा सुनवाइ हुन नसकेको उनको भनाइ छ।

उनीहरुलाई आवश्यकता आधारमा सेतो छडी, वैशाखी, लठ्ठी, कम्मरमा बाँध्ने पेटी, क्यालिफर, कुहिनो मुनीको हात, घुडा मुनीको कृत्रिम खुट्टा, ह्विल चियर, ट्राइसाइकल, विशेष जुत्तालगायत सामग्रीको व्यवस्था गरिदिन उनले आग्रह गरे। अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा वकालत गर्दै आएका कालीप्रसाद चौधरीले मापदण्ड अनुरुपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताए।

अपाङ्गता भएका छात्रछात्रालाई विशेष छात्रवृत्तिको व्यवस्थासँगै सार्वजनिक यातायातका साधनमा छुटको व्यवस्था गरिनुपर्ने भए पनि त्यो हालसम्म कार्यान्वयन नभएको चौधरीले बताए। नगर उपप्रमुख कल्पनाकुमारी जोशी पन्तले नगरपालिकाको नयाँ बन्ने भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउन लागिएको जानकारी दिइन्।

'जनप्रतिनिधि भएर आएपछि बजेट भ्याएसम्म र आफ्नै प्रयासमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिदै आएको छ', उनले भनिन्, 'सबैलाई पु¥याउन सकेका छैनौँ, क्रमशः मागका आधारमा वितरण गर्छौँ।' नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले अपाङ्गता भएका व्यक्तिसहित अन्य लक्षित वर्गका लागि सीपमूलक, नेतृत्व विकास, क्षमता विकाससम्बन्धी कार्यक्रम आयोजना हुँदै आएको उल्लेख गरे।

वडा नं १ का वडाध्यक्ष उत्तरदेव भट्टले समावेशिताको सिद्धान्तलाई अङ्गिकार गरी अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार स्थापित गरिनुपर्ने बताए। अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ पूर्णरुपमा कार्यान्वयन नहँुदा अपाङ्गता भएका व्यक्तिहरु हकअधिकार पाउनबाट वञ्चित हँुदै आएको सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यज्ञराज पाण्डेयले बताए। शुक्लाफाँटा नगरपालिकाको कूल जनसङ्ख्या ५३ हजार नौ सय ६९ मध्ये अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या एक हजार पाँच सय ११ रहेको छ। 
 

कमेन्ट लोड गर्नुस