सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सरकारले पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षण गर्ने

। फोटो स्रोत ।
२०७६ असार ३१, ०२:३०

नेपाल सरकारले पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षण गर्ने भएको छ। सो सर्वेक्षणबाट नेपालीको घुमफिर संस्कृतिको प्रवृत्ति र उनीहरुले गर्ने खर्चको यथार्थ अवस्था पत्ता लाग्ने बताइएको छ। राष्ट्रिय योजना आयोगको अभिलेखमा रहने गरी विभिन्न निकायको सहयोगमा आन्तरिक पर्यटक सर्वेक्षण गर्न लागिएको आयोगका सदस्य डा. रामकुमार फुयाँलले जानकारी दिए। उनले भने, ‘हामीसँग आन्तरिक पर्यटनसम्बन्धी यकिन तथ्यांक छैन,’  ‘विदेशी पर्यटक आगमनको बलियो आधार बनाउन पनि आन्तरिक पर्यटनको तथ्यांक अत्यावश्यक छ।’

सरकारको आगामी आर्थिक वर्ष २०७६।७७ को योजना तथा तथ्यांकसम्बन्धी वार्षिक विकास कार्यक्रममा आन्तरिक पर्यटक सर्वेक्षणलाई समेटिएको छ। वार्षिक विकास कार्यक्रममा अवधारणाका रुपमा समेटिएको यो सर्वेक्षण राष्ट्रिय योजना आयोगकै सम्पत्तिका रुपमा रहने बताइएको छ। तर, गणनाको क्रममा सबै सरोकारवालासँग सहयोग लिइने बताउंदै उनले भने, ‘सर्वेक्षण केन्द्रीय तथ्यांक विभाग वा अरु कुनै निकायको नेतृत्वमा होला,’ ‘तर, यो राष्ट्रिय सम्पत्ति हुनेछ।’ नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन्।

सरकारले आगामी आर्थिक वर्षमा तीन राष्ट्रियस्तरका सर्वेक्षण गर्दैछ। त्यसमध्ये आन्तरिक पर्यटकसम्बन्धी सर्वेक्षण पनि एक हो।

कमेन्ट लोड गर्नुस