सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार दिनपछि डडेल्धुरा फर्किए अस्पतालका चिकित्सक

२०७६ असार ३०, ०४:२३ खबर संवाददाता

पटक–पटकको आक्रमण पछि असुरक्षा बढेको भन्दै जिल्ला छोडेका डडेल्धुरा अस्पतालका चिकित्सकहरु आज फर्किएका छन्। असुरक्षाको कारण देखाउँदै प्रदेशको अस्थायी राजधानी धनगढी आएका चिकित्सकहरु आज डडेल्धुरा फर्किएका हुन्। डडेल्धुराबाट धनगढी आएका चिकित्सकहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्दै जिल्ला फर्किने सहमती गरपछि आज फर्किएका हुन्। मुख्यमन्त्री भट्टले दोषीलाई कारवाहीको दायरामा ल्याउने दावी गरेपछि चिकित्सकहरु डडेल्धुरा फर्किएका अस्पतालका मेसु डाक्टर जितेन्द्र कडेलले जानकारी दिए। 

उनले अहिले सम्म प्रहरीले आक्रमणमा संग्लन एक जनालाई पक्राउ गरेको दावी गरेपनि सार्वजनिक भने नगरेको बताए। आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने बताउँदै उनले सुरक्षाको पूर्ण ग्यारेण्टी भए भोलीदेखि अस्पतालको सबै सेवा सुचारु हुने बताए। पाँच दिनदेखि अस्पतालले आकस्मिक सेवा मात्रै सञ्चालन गर्दै आएको थियो। 

शवको पोष्टमार्टम गर्ने क्रममा गत २५ गते चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु धनगढी आएका थिए। यस अघि पनि सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल विवादमा तानिएको थियो। 
 

कमेन्ट लोड गर्नुस