भारत र पाकिस्तान बिच शनिवार साँझ ५ बजेबाट युद्धविराम भएको पुष्टि

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन्।
भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका छन्, ’शनिवार भारतीय समयअनुसार ३ः३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबिच फोन वार्तालाप भएको छ। सो कुराकानीका आधारमा भारतीय समयअनुसार शनिवार ५ बजेदेखि दुवै पक्षबिच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबिच सहमति भएको छ।’
यस्तै, पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले पनि भारत र पाकिस्तानबिच तत्काल युद्धविरामको सहमति भएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले पाकिस्तान सँधै यस क्षेत्रको शान्ति र सुरक्षाको पक्षमा रहेको र आफूहरूले देशको सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन्। दुवै पक्षबिच मे १२ मा कुराकानी हुने बीबीसीले जनाएको छ।
