कैलालीको घोडाघोडीमा सम्झौताको चार वर्षसम्म चार सडकको काम अलपत्र

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा सम्झौताको चार वर्षसम्म चार वटा सडक निर्माणको काम अलपत्र परेको छ।
निर्माण कम्पनीको लापर्बाहीका कारण सडकहरू निर्माणको काम चार वर्षसम्म अलपत्र परेको हो। श्री केएस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढीले नगरपालिकासँग २०७८ माघ २३ गते नगरभित्रका चार ओटा सडक संयुक्त रूपमा कालो पत्रे गर्ने भन्दै सम्झौता गरेको थियो। सडक निर्माण अवधि एक वर्ष मात्रै हो। नगरपालिकासँग गरेको सम्झौता २०७९ माघ २३ गते सकिएको छ। तर, सडक निर्माणको काम सकिएको छैन। नगरपालिकाले ६ महिना समयावधि थप गरेको छ। अझै निर्माण कम्पनीले सडक निर्माणको काम थालेको छैन।
घोडाघोडी नगरपालिका–१ र ८ जोड्ने सुखड–लठुवा सडक, डोके बजारदेखि वडा नम्बर ५ को कार्यालयसम्म जोड्ने सडक, वडा नम्बर ४ मा महेन्द्र राजमार्गदेखि माघी होमस्टे जाने सडक र महेन्द्र राजमार्गदेखि डिभिजन वन कार्यालय हुँदै तुलसीपुर सामुदायिक वनको पूर्व पट्टी वडा नम्बर १० को सडक निर्माणको काम अलपत्र छ। चार वटा सडक कालोपत्र गर्न श्री केएस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढीले २ करोड ४१ लाख ३५ हजार एक सय ८५ रुपैयाँ ४८ पैसामा सम्झौता गरेको थियो। सम्झौता अवधिमा काम पूरा नगरेको निर्माण कम्पनीले थप गरिएको समयमा पनि काम नगरेको हो। घोडाघोडी नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर चन्दले नेपाल सरकारले ६ महिना समय थप गरेको बताए। उनले भने, ‘हामीले काम कारबाही प्रक्रियाका लागि फाइल अगाडि बढाइ सकेको अवस्थामा अन्तिममा आएर हामीलाई नै थाहा नदिएर सङ्घीय सरकारले ६ महिना समयावधि थप गरिदियो।’

हाल सडकमा पहिले हालेको ग्राभेल मात्रै छ। त्यस यता निर्माण कम्पनीले कुनै काम अगाडि बढाउन सकेको छैन। तर, वडा नम्बर १ र ८ जोड्ने सुखड–लठुवा खण्डमा भने प्राइम हानेर पनि कालोपत्रेको काम भने अगाडी बढ्न सकेको छैन। निर्माण कम्पनीका सञ्चालक सिद्ध ओलीले फोन उठाएनन्। घोडाघोडी नगरपालिकाका इन्जिनियर नवीन मल्लले निर्माण कम्पनीले धेरै ठाउँमा ठेक्का लिने र अन्तिममा काम गर्न नसक्दा सडक कालोपत्रेको काम अलपत्र परेको बताए। मल्लले अब बाँकी प्रक्रिया कार्यपालिकाले जे गर्छ त्यही अनुसार अगाडि बढ्ने बताएका छन।
घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले मङ्गलवार मात्र ठेकेदार सम्पर्कमा आएका बताएका छन्। उनले भने, ‘लामो प्रयासपछि ठेकेदार साप सम्पर्कमा आउनुभएको छ। अब सडक कालोपत्रको काम अगाडी बढ्छ।’
घोडाघोडी नगरपालिकाका पूर्व नगर प्रमुख ममता प्रसाद चौधरीकै समयमा चार सडक कालोपत्रको ठेक्का सम्झौता भएको थियो। तर, नगर प्रमुख खडकबहादुर रावतको आधा कार्यकाल पूरा हुँदा पनि सडकको काम सकिएको छैन।