सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी गुल्ममा मेस सञ्चालक तीन प्रहरीद्वारा मासुको डेढ लाख दिन आनाकानी

२०७६ असार ३०, १२:४९ खबर संवाददाता

सशस्त्र प्रहरी गुल्म सेती धनगढीमा मेस सञ्चालक तीन प्रहरीले मासुको डेढ लाख बढि रकम तीन बर्ष सम्म नतिरेको फेला परेको छ। २०७३ सालदेखि साताको २ पटक धनगढीको कुमकुम मासु पलसबाट मासु खरिद गरेको एक लाख ५३ हजार चार सय ९१ रकम अहिले सम्म मासु पसल सञ्चालकले नपाएका हुन्। सो समयमा गुल्ममा कार्यरत मेसका कोट मास्टर प्रहरी हवल्दार हर्कवहादुर सिंह, खिलमान प्रहरी जवान रामु जाग्री र मेस सञ्चालक प्रहरी जवान प्रकाश भट्ट मासुको डेढ लाख बढि रकम नतिरी अन्यत्र सरुवा भएपछि अहिले सम्म रकम नपाएको मासु पसलका सञ्चालक शंकरवहादुर चन्दले बताए। 

मासुको रकम असुल गरिदिन जिल्ला प्रशासन कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म सेतीलाई पटक–पटक लिखित आग्रह गर्दा पनि सुनुवाई नभएको मासु पसल सञ्चालक चन्दले बताए। उनले कोट मास्टर, खिलमान र मेस सञ्चालकलाई समेत पटक–पटक सम्पर्क गर्दा अहिले सम्म मासुको रकम नदिएको गुनासो गरे। 

२०७५ साल पौष १ गते ६८ हजार ८ सय १५ र १८ गते ६९ हजारको चेक दिएपनि चेक बाउन्स भएको चन्दले बताए। उनका अनुसार मासुको मात्र नभई अन्य दैनिक उपभोग्य सामानको समेत तीनै जना प्रहरीहरुले रकम विभिन्न पसलमा तिर्न बाँकी रहेको छ। यता सो समयमा मेसका खिलमान रामु जाग्रीले प्रहरी हवल्दार सिंह र मेस सञ्चालक भट्टले मासुको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै आफुले तिर्नु पर्ने सबै रकम तिरिसकेको बताए। सशस्त्र प्रहरी गुल्म सेती धनगढीले भने मेस सञ्चालक, कोट मास्टर र खिलमानले नै उक्त रकम तिर्नुपर्ने भएकाले त्यस्मा गुल्मको कुनै कमजोरी नरहेको दावी गरेको छ।

रकम नतिरी तीनै जनाको सरुवा भएपछि प्रहरी हवल्दार सिंह र खिलमान जाग्रीको सरुवा ६ महिना सम्म रोकेको र पछि मासु पसल सञ्चालकसंगको समझदारीमा सरुवाका लागि रवाना दिएको गुल्मले जनाएको छ। गुल्मका प्रमुख प्रहरी निरिक्षक भीमदत्त जोशीले मासुको रकम असुल गर्न पहल गर्ने आश्वासन दिए। 
 

कमेन्ट लोड गर्नुस