सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगर खानेपानीको गुणस्तर परीक्षण गर्दै

२०८२ वैशाख २२, १०:१७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले खानेपानीको गुणस्तर परीक्षण थालेको छ।

धनगढी क्षेत्रबाट पानीका स्रोतहरूबाट नमुना सङ्कलन गरिएको छ। पानीको गुणस्तर प्रयोगशाला परीक्षणका लागि आइतवार नमुनाहरू सङ्कलन गरिएको हो। धनगढी उपमहानगरपालिकाले बर्खा सुरु हुँदै गर्दा पानीजन्य रोगको जोखिम हुने भन्दै पानीको परीक्षण गर्दै छ। पानीजन्य रोगबाट नागरिकको स्वास्थ्य जोगाउन परीक्षण गर्न थालिएको हो।

उपमहानगर भित्र रहेका खानेपानी निगम, संस्थान, डिपो तथा बोरिङको खानेपानी गुणस्तर परीक्षण थालिएको छ। धनगढी उप–महानगरपालिका–५ मा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट पानी परीक्षण थालिएको छ। बिगतका वर्षमा धनगढीमा पानीजन्य रोग देखा परेकाले पूर्व सुरक्षाका लागि परीक्षण थालिएको बताइएको छ। सबै खानेपानी संस्थाहरूको पानी गुणस्तर परीक्षण गर्न लागिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। नगरवासीलाई खानेपानीबाटै सर्ने रोगबाट बचाउनका लागि पूर्व तयारी स्वरूप हरेक खानेपानी वितरणका केन्द्रका ट्याङ्कीबाट नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको उनले बताए।

खानेपानी ट्याङ्की र सो संस्थाबाट वितरण भएको अन्तिम बिन्दुबाट पनि पानीको नमुना सङ्कलन गरिएको छ। ‘खानेपानीको गुणस्तर परीक्षण गरिरहेका छौँ, अवस्थीले भने ‘हामीले पानीको स्वच्छता कत्तिको छ ? र पानीबाट फैलिने रोग, विशेषगरी झाडापखालाका किटाणहरू छन् की छैनन् ? पानी सामान्यतया धमिलोपन कत्तिको छ ? त्यो हेर्दैछौँ, पानी अमलियपना तथा छारियपना के छ ? त्यो पनि चेक गर्दैछौँ। हामी धनगढी उपमहानगरपालिका भित्र जतिपनि खानेपानी वितरण केन्द्रका ट्याङ्कीहरू छन्, त्यसको पानी र त्यसले वितरण गरेको अन्तिम बिन्दुमा गएरपनि नमुना परिक्षण गरिरहेका छौँ।’

उपमहानगरपालिका भित्र वितरण भइरहेका सबै वितरण केन्द्रका ट्याङ्की र केही समुदायमा समेत गएर नमुना सङ्कलन थालिएको छ। धनगढीमा आइतवारबाट नमुना सङ्कलनको काम थालिएको हो। नमुना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेपछि पानीको अवस्थाको बारेमा जानकारी हुने छ। धनगढी उपमहानगरपालिका क्षेत्रका खानेपानीको पहुँच बाहिर रहेका बस्तीहरूबाट नल्काको पानीको समेत नमुना सङ्कलन गरिने भएको छ।

 

कमेन्ट लोड गर्नुस