सुदूरपश्चिमका तीन जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जनयात्रा’ गर्ने

धनगढीः सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जनयात्रा’ गर्ने भएको छ।
सुदूरपश्चिममा आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने उद्देश्यले बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा कार्यक्रम’ सञ्चालन गरिने भएको हो।
नयाँ राजनीतिक कार्यदिशाको सुरुवात स्वरूप मङ्गलवार धनगढीमा प्रदेश सभापति ई. प्रकाश बिस्टको अध्यक्षता र प्रदेश इञ्चार्ज, केन्द्रीय सदस्य तथा सांसद हरि ढकालको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको छ। बैठकले हिमाली जिल्ला बझाङ, बाजुरा र दार्चुलालाई पहिलो चरणको अभियान क्षेत्रका रूपमा छनोट गरेको हो।

रास्वपाले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित यो अभियानले ती जिल्लामा सशक्त उपस्थिति जनाउने छ र नागरिकसँग प्रत्यक्ष संवादमार्फत पार्टीको विचार आम नागरिकसम्म पु¥याउने विश्वास लिइएको बताएको छ।
यसैगरी, संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित तहगत समितिको वार्षिक क्यालेन्डर निर्माण गरिने र कार्यकर्तालाई तालिममार्फत प्रशिक्षण दिइने निर्णय समेत बैठकले गरेको छ। संगठन सुदृढीकरण र सबलीकरणका लागि पहिलो चरणमा कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
रास्वपाले संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतामार्फत पार्टीलाई जनता माझ अझ विश्वसनीय र प्रभावशाली बनाउने रणनीति अघि सारेको जनाएको छ।