हतकडीसहित भारत पुगेकी महिला पक्राउ गर्ने चन्दसहितका चार प्रहरी पुरस्कृत

धनगढीः कैलालीमा सरकारी वकिलको कार्यालयबाट फरार भएकी महिलालाई भारतबाट पक्राउ गरेको भन्दै चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्र बहादुर चन्दसहित चार जना प्रहरीलाई रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत गरेको जनाएको हो।
पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोष महरा तथा प्रहरी जवान महेश ओझा पनि रहेका छन्। उनीहरुलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले पुरस्कृत गरेका हुन्। मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतवार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन्।

उनलाई सई चन्द नेतृत्वको टोलीले सोमवार बिहान भारतको पलियामा फेला पारेर पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयले दमाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाउने इलाका प्रहरी कार्यालय टीकापुरका दुई जना प्रहरीलाई निलम्बन समेत गरेको छ।