सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको साँफेबगरका आगलागी पीडितलाई प्रदेश सरकारले १० लाख सहयोग गर्ने

२०८२ वैशाख १३, ०४:०५ खबर संवाददाता

धनगढीः अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा शनिवार बिहान भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानविय सहायता स्वरूप १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। शनिवार बिहान पौने ४ बजेको समयमा अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए।

स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत् सर्ट भएर आगलागी हुँदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका थिए। यसअघि चैत २६ गते अछामको बान्नीगढी जयगढा गाउँपालिकामा रहेको जयगण बजारमा समेत आगलागी हुँदा २७ पसल जलेर नष्ट भएका थिए। यसअघि भएको आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख सहयोग गर्ने घोषणा गरेको थियो।

कमेन्ट लोड गर्नुस