अछामको साँफेहाट बजारमा आगलागी, १० पसल जले

अछामःअछामको साँफेहाट बजारमा आगलागी हुँदा १० पसल जले नष्ट भएका छन्।
अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिवार बिहान भएको भीषण आगलागीबाट १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीबाट आसपासका पसलहरूमा फैलिँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्। आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा आइसकेको जनाइएको छ। हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
