सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प, डाक्टरलाई काठमाडौं फर्किन आग्रह

२०७६ असार २७, १२:१० खबर संवाददाता

डडेल्धुरा–डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि पटक पटक आक्रमणका घटना भएपछि सुरक्षाको माग गर्दै चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। शवको पोष्टमार्टम गर्ने क्रममा फेरी २५ गते चिकित्सकमाथि आक्रमण भएपछि दुई दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारिएको हो। अहिले अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर जितेन्द्र कँडेल एक्लैले आकस्मिक सेवा सञ्चालन गरिरहेका छन् भने अन्य चिकित्सक काठमाडौँ फर्किने भएका छन्। 

सरकारी चिकित्सक संघ नेपाल (गोदान) र नेपाल मेडिकल एसोसिएसनले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई काठमाडौं फर्किन आग्रह गरेपछि ९ जना चिकित्सक काठमाडौँ फर्किने भएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर कँडेलले पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि जिल्लामा बस्ने वातावरण नै नभएको बताए। जिल्लामा चिकित्सकमाथि असुरक्षा बढेको भन्दै गोदानले सवैलाई काठमाडौं हाजिर हुन भनेको उनले जानकारी दिए। 

यस्तै अस्पतालको  सेवा ठप्प पारिएपछि जिल्लामा सरोकारवालाविच छलफल भएको छ। छलफलमा डाक्टर र प्रमख जिल्ला अधिकारीले एकअर्काप्रति आरोपप्रत्यारोप मात्रै लगाएको बुझिएको छ। छलफलमा सहभागी चिकित्सकहरुले दोषिलाई कारबाही गरे मात्र डाक्टरमाथिको आक्रमण रोकिने बताएका थिए। 

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको दावी गरे। तर आक्रमणको नेतृत्व गर्ने वडा अध्यक्ष सूर्यप्रकाश खड्का र अन्य दोषिलाई कारबाही गर्ने विषयमा स्थानीय प्रशासनले ढुक्क पार्न नसकेपछि छलफल विना निष्कर्ष टुङगिएको थियो। 

बुधबार दिउँसो अमरगढी नगरपालिका–११ का वडा अध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरुले आरोप लगाउँदै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस