सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको संसदमा भ्रष्टाचारको नमूना देखाउँदै लेखा समितिकी सभापति बम

२०७६ असार २६, १२:१७ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले प्रदेश सरकारका विभिन्न योजनामा भए-गरेका भ्रष्टाचारको अध्ययन गरिने बताएकी छन्। आज बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै बोलेकी बमले प्रदेशमा भ्रष्टाचार बढेको बताउदै समग्र अध्ययन गरेर प्रतिवेदन सभामा प्रस्तुत गरिने बताएकी हुन्।

प्रदेश सरकारको आर्थिक वर्ष २०७४-७५ को अल्पकालीन बजेटमा शित भण्डार केन्द्रको सम्भाव्यता अध्ययनका लागि गरेको सम्झौताको नमुना देखाउदै मन्त्रालयको आधिकारिक छाप समेत नभेटिएको बताईन्। उनले दार्चुला र बाजुरा जिल्लामा शित भण्डारको सम्भाव्यता अध्ययन गर्न गरिएको सम्झौता पत्रमा कन्सल्टेन्सीको आधिकारिक छाप, हस्ताक्षर भएपनि मन्त्रालयको नभेटिएको भन्दै सभामा नमुना नै देखाएकी थिईन्।

बमले सम्झौता पत्रमा योजनाको मुल्याङकन गर्ने र सम्झौता गर्ने कृषि मन्त्रालयकै आधिकारिक हस्ताक्षर र छाप नहुनेले भ्रष्टाचारको नमुना भएको बताईन्। सम्झौता पत्रमा शित भण्डारको सम्भाव्यता अध्ययन गरिने जिल्लाको नाम उल्लेख भएपनि कुन क्षेत्रमा अध्ययन गर्ने भन्ने कुरा समेत उल्लेख हुनुपर्ने बताईन्।

यस्तै बमले कञ्चनपुरको वेदकोट नगरपालिकामा आसपासको स्थानीयलाई उपेक्षा गरी नेकपाका कार्यकर्ताको खेतमा आठ लाखको तटबन्धन गरेको कुराले पनि प्रदेशमा भ्रष्टाचार बढ्दै गएको आशंका गरिन्।  सभापति बमले भ्रष्टाचारका नमुनाजन्य ती विषयलाई आफूले सभालाई समान्य जानकारी गराएको भएपनि धेरै योजनामा भ्रष्टाचार बढेको बताउदै विस्तृत अध्ययन  गरेर प्रतिवेदन तयार गरिने उल्लेख गरिन्।

बमले भनिन्, ‘मैले यो कुरालाई छ्यास्याक्क छोएको मात्र हो, विस्तृत रुपमा समग्र नमुनाको अध्ययन गरी लेखा समितिको सभापतिको हैसियतले यस सभामा प्रतिवेदन पेश गर्नेछु।’ यसअघि मंगलबारको प्रदेशसभा बैठकमा नेकपाका सांसद रतन बहादुर थापाले प्रदेशमा भ्रष्टाचार र अनियमितता मौलाउदै गएपनि प्रतिपक्षी दल चुप लागेर बसेको आरोप लगाएका थिए।

थापाले सार्वजनिक लेखा समितिमा समेत प्रतिपक्षी दलकै सांसदको सभापति रहेपनि भ्रष्टाचार बढ्दा समेत कांग्रेस र राजपा मौन बसेको आरोप लगाएका थिए। कांग्रेसका सांसद कर्ण मल्लले पनि केही भ्रष्टाचारका नमुना प्रस्तुत गरेका थिए भने राजपाका सांसद कृष्ण चौधरीले प्रदेशमा भ्रष्टाचार बढेको भन्दै अधिकार सम्पन्न छुट्टै संसदीय समिति गठन गर्न माग गरेका थिए।   

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस