अछाममा वनका पदाधिकारी र डिभिजन वन कार्यालयको मिलेमतोमा वन फँडानी

अछामः अछाममा सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालयको मिलेमतोमा व्यापक रूपमा वन फँडानी भएको छ।
जिल्लाको कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको लेक क्षेत्रमा रहेका सामुदायिक वन फँडानी गरेर चुत्रो (तिर्खुला) को डाँठ तथा बोक्रा बिक्री भइरहेको हो। कमलबजार नगरपालिका–५ स्थित पाँचुली चैतेपातल सामुदायिक वनबाट १३ हजार किलो चुत्रो बिक्री गरिएको छ।
सो वनका पदाधिकारी, डिभिजन वन कार्यालय विनायक र मङ्गलसैनका कर्मचारीको मिलेमतोमा उक्त परिमाणको चुत्रो बिक्री भएको खुलेको हो। जिल्लाका विभिन्न वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयबाट अनुमति लिएर वन पैदावार सङ्कलन गरिरहेका हुन्। कमलबजार नगरपालिका–५ मा रहेको पाँचुली चैतेपातल सामुदायिक वनका पदाधिकारीले किर्ते भेला गरेर वन पैदावार बेच्ने निर्णय गरेको खुलेको छ। सो भेलाको निर्णय पुस्तिकामा विभिन्न व्यक्तिको नाम लेख्दै किर्ते हस्ताक्षर गरेर डिभिजन वन कार्यालयलाई वन पैदावार बेच्ने अनुमति लिएको बुझिएको छ।


सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयप्रकाश उपाध्याय आठ महिनादेखि कैलालीमा हुनुहुन्छ तर उहाँको अध्यक्षतामा भएको भनिएको भेलामा उहाँको हस्ताक्षर छ। उहाँले आफूले हस्ताक्षर नगरेको बताए। भेलाको निर्णय पुस्तिकामा हस्ताक्षर देखिएका कमलबजार नगरपालिका–५ का खगेन्द्र उपाध्यायले आफू कैलालीमा भएको बेलामा आफ्नो नाममा हस्ताक्षर भएको भन्दै किर्ते भेला भएको बताए। सो निर्णयमा कमलबजार नगरपालिकाका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाको हस्ताक्षरसमेत छ तर अध्यक्ष तिमिल्सैनाले वनको भेला नभएको बताए।

डिभिजन वन कार्यालय मङ्गलसैनका प्रमुख जनक पाध्याका अनुसार अछाम जिल्लाबाट चुत्रो जातको पैदावार निकासीका लागि १० हजार किलोको मात्र कोटा छ तर सो कार्यालयले नै पाँचुली चैतेपातल सामुदायिक वनलाई १३ हजार किलोको अनुमति दिएको छ । जिल्लाका अन्य पालिकाबाट पनि चुत्रो काटेर बिक्री गरिएको छ। सामुदायिक वनलाई फँडानी गरेर वन पैदावार बिक्री गरिएकोमा स्थानीयले विरोध जनाएका छन् । कमलबजार नगरपालिका–५ का जीवन तिमिल्सैनाले वन फँडानी गरेको भन्दै फँडानी गर्नेका विरुद्ध मुद्दा दर्ता गर्ने बताए।
दामासाही तरिकाले वनका बुट्यान काटिँदा सामुदायिक वन उजाड बनेका छन् तर डिभिजन वन कार्यालयहरू मुखदर्शक बनेका छन्। सामुदायिक वनलाई कटान आदेशका लागि सिफारिस गर्ने डिभिजन वन कार्यालय विनायकका प्रमुख गणेश ठगुन्नाले वन फँडानीमा कर्मचारीको मिलेमतो नभएको बताए।