नवजीवन सहकारीले एक बिघा १० कट्टामा औद्योगिक ग्राम स्थापना गर्ने
धनगढी: धनगढीको नवजीवन सहकारी संस्थाको गोदावरी नगरपालिका–८ मजगाउँमा एक बिघा १० कट्टा जग्गा छ। सहकारीले २०७० सालमा जग्गा खरिद गरेको हो।
सोही जग्गामा २०७५/०७५ सालमा सहकारीको ६५ लाख र रिजमको ३७ लाख गरेर एक करोड २ लाखको पाँच हजार क्विन्टल क्षमताको गोदाम घर निर्माण गरिएको छ। सहकारीले ८५ लाखमा मिल घर र विद्युतीकरण गरिएको छ। मिलघर निर्माण र सडक लगायतका कामहरूमा ७१ लाख खर्च गरेको सहकारीले एक करोड ५६ लाखमा मिल सञ्चालनका सबै पूर्वाधारहरू निर्माण गरेको नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमले बताए। उनले भने, मजगाउँमा कृषि उप–आयोजना सञ्चालन गरेका छौ। एक बिघा १० कट्टा जग्गा छ। सहकारीले धान खरिद गरेको छ। आफ्नै चामल उत्पादन थालेका छौ। चामल बजारमा पठाएका छौ।’
नवजीवन सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँको एक बिघा १० कट्टा जग्गामा औद्योगिक ग्राम निर्माणको योजना बनाएको छ। मिल सञ्चालन गरेर आफ्नै चामल बिक्री थालेको सहकारीले गहुँको पिठो, तोरीको तेल, खानेपानी उद्योग र डेरी सञ्चालनको योजना बनाएको हो। नवजीवन सहकारीले चामल उत्पादन र बिक्रीको योजना सफल भएपछि अन्य उद्योगहरूसमेत स्थापना गर्ने बताएको छ। सहकारीका अध्यक्ष बमले भने, ‘चामल बिक्री विस्तार गर्दै जाने छौ। पिठो, तोरीको तेल, डेरी लगायतका साना उद्योगहरू स्थापना गर्ने, सेयर सदस्यहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पर्दान गर्ने, यो क्षेत्रलाई नवजीवन औद्योगिक क्षेत्रको रूपमा विकास गर्दै लैजाने वर्तामान सञ्चालन समितिको योजना रहेको छ।’


नवजीवन सहकारीले एक घण्टामा २ मेट्रिक टन चामल उत्पादन गर्दै आएको छ। चामल उत्पादनको मिल सञ्चालन गरिएको क्षेत्रमा अन्य उद्योगहरू पनि स्थापनाको योजना छ। औद्योगिक ग्रामका लागि सवारी खरिद तथा सरकारबाट माग समेत गरिएको छ। अन्य उद्योग स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकार, सङ्घीय सरकार तथा विभिन्न संस्थाहरूबाट अनुदानसमेत लिने योजनामा सहकारी रहेको छ। उनले भने, अहिले हामीले चामल निकालेका छौ। चामल बिक्री थालेका छौ। तोरीको तेल, मसुरोको दाल र पिठोका उद्योगहरू पनि सञ्चालन गर्दैछौ। सडकको पश्चिम क्षेत्रमा खाद्य सामाग्रीका उद्योग र सडकको पूर्वी क्षेत्रमा खानेपानीको उद्योग सञ्चालन गर्छाै। पानीका लागि उद्योग विभागबाट स्वीकृति पाएका छौ। काम गर्ने ढोका खुल्ला भएको छ।’

नवजीवन सहकारीले बजारमा पठाएको मोटा चामलको एक हजार चार सय र मसिनो चामलको २ हजार २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।