‘सुदूरपश्चिम सरकारले नयाँ बजेटमा विपद्लाई प्राथमिकता दिने’

धनगढी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपद्लाई प्राथमिकता दिने बताएका छन्। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा विपत्लाई प्राथमिकता दिने उनले बताएका हुन।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय एवम् मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको आयोजनामा धनगढीमा भएको कार्यक्रम उनले विभिन्न दातृ निकायसँग समन्वय गरेर विपत् व्यवस्थापनका लागि बढी बजेट छुट्याउने उल्लेख गरेका छन्।
मन्त्री सार्कीले पूर्व सूचना प्रणालीलाई अझ व्यवस्थित गर्ने र समुदायलाई सचेत पार्ने कार्य समेत गर्ने बताए। विगतमा भएको क्षतिलाई अङ्कलन गरेर अझै बढी तयार हुन आवश्यक रहेको उनको तर्क छ। विपत् जोखिम न्यूनीकरणको हकमा प्रदेश सरकारले धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको मन्त्री उनले बताएका छन्।


सङ्घसंस्थाहरूले विपत्को सवालमा अध्ययन गरेर प्रदेश सरकारलाई घचघच्याउने काम गर्दै आएका छन्। प्रदेश सरकारबाट भएको कमीकमजोरी सुधार गर्न आवश्यक रहेको उनले बताएका छन। पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाइने प्रदेश सरकारको दाबी छ।

कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले विपत् व्यवस्थापनको हिसाबले अध्ययन र बजेट बढाउन जरुरी रहेको बताए। यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका निर्देशक अशोकविक्रम जैरूले हरेक व्यक्ति, परिवार, पालिका विपत् उत्थानशील हुन जरुरी भइसकेको उल्लेख गरेका छन्। उनले विपत् सम्बन्धी अध्ययनले प्रदेश सरकारलाई त्यस क्षेत्रमा बजेट विनियोजन गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा यो प्रदेशमा जलवायु अनुकूलन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धित बजेट विश्लेषण अध्ययनबाट प्राप्त नतिजा सार्वजनिक गरिएको थियो।