सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

२०८१ चैत्र १३, ०१:२० रासस

काठमाडौँः प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन्। 

सभामुख देवराज घिमिरेले सभाको आजको बैठक सुरु गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन्। सभामुख घिमिरेले नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिनुभएको थियो। सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने बताउँदै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। सांसद बस्नेतले आफ्नो भनाइ सक्ने बित्तिकै प्रतिपक्षी सांसदहरुले पुनः उठेर विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले विरोधका बीच सदन ३० मिनेटका लागि स्थगन गर्नुभएको छ। संसद्को कार्यसूचीअनुसार आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यक्रम छ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

कमेन्ट लोड गर्नुस