सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सात जना सासंदको क्षेत्रमा मन्त्रीको भन्दा बढि बजेट

२०७६ असार २५, ०२:१३ जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको २८ अर्ब १६ करोड बजेट मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत रहेका ८ अर्ब ९६ करोड विकास बजेटको ३० प्रतिशत हिस्सा १३ जना सांसदको क्षेत्रमा परेको छ। मुख्यमन्त्री, सभामुख र चार मन्त्रीको क्षेत्रमा मात्रै कुल विकास बजेटको एकमुष्ट राखिएको समेत गरी २० प्रतिशत परेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित नेकपाका सांसदको क्षेत्रमा झण्डै ३० प्रतिशत बजेट पारिएको जसमा सात जना सांसदको क्षेत्रमा भने मुख्यमन्त्री र केही मन्त्रीको क्षेत्रको भन्दा बढि बजेट परेको छ।

रोचक तथ्य त के भेटिएको छ भने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोरा र सभामुख अर्जुन बहादुर थापा पछि सबैभन्दा बढि बजेट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काको क्षेत्रमा परेको छ। डोटी प्रदेश ख बाट निर्वाचित भएका मुख्यमन्त्री त्रिलोचन भट्टको क्षेत्रमा २३ करोड ९२ लाख बजेट पर्दा खडकाको प्रदेश क मा २४ करोड ५९ लाख बजेट परेको छ। १३ जना सांसदहरुमा सबैभन्दा बढि बजेट उनकै क्षेत्रमा छ।

१३ जना सांसदमा मुख्यमन्त्री र अन्य मन्त्रीको भन्दा बढि बजेट पाउने खड्का पछि बझाङ निर्वाचन क्षेत्र प्रदेश ख बाट निर्वाचित नेकपाकी सांसद देवकी मल्लको क्षेत्रमा २३ करोड ७० लाख बजेट परेको छ भने तटबन्ध निर्माण तथा संरक्षण, सिचाईका योजना पहिचान गरी कार्यान्वयन गर्ने र मर्मत सम्भार तथा व्यवस्थापन शिर्षकमा एकमुष्ट ठुलो बजेट राखिएको छ।

त्यसपछि बैतडी प्रदेश क का नेकपाका सांसद प्रेम प्रकाश भट्टको क्षेत्रमा २२ करोड, र बैतडी ख बाटै निर्वाचित नेकपाकै सांसद लिलाधर भट्टको निर्वाचन क्षेत्रमा २० करोड ६२ लाख बजेट परेको छ। यस्तै दार्चुला प्रदेश ख का सांसद मान बहादुर धामीको क्षेत्रमा १९ करोड, दार्चुला क का सांसद गेल्बु बोहोराको क्षेत्रमा १७ करोड १३ लाख बजेट परेको छ।

डेल्धुराबाट निर्वाचित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कर्ण मल्लको क्षेत्रमा १७ करोड ७५ लाख बजेट परेको छ। नेकपाका सचेतक समेत रहेका अछाम २ को क का सांसद अक्कल बहादुर रावलको क्षेत्रमा १६ करोड २६ लाख बजेट परेको छ। तर केही दिन पहिले नेकपाले बजेटप्रती असन्तुष्टि जनाउदै संकलन गरेको संयुक्त हस्ताक्षर सहितको वक्तव्यमा रावलको पनि हस्ताक्षर रहेको छ।  

बाजुरा प्रदेश क का सांसद बलेदेव रेग्मीको क्षेत्रमा १४ करोड ६० लाख,  कैलाली ३ को क का सांसद विरमान चौधरीको क्षेत्रमा १४ करोड ३० लाख, पूर्व मन्त्री तथा क का सांसद दीर्घ सोडारीको क्षेत्रमा १० करोड २० लाख बजेट परेको छ भने कञ्चनपुर २ को ख बाट निर्वाचित लाल बहादुर खड्काको क्षेत्रमा १० करोड बजेट परेको छ।

यस्तै अछाम क्षेत्र नम्बर २ को प्रदेश ख का सांसद बल बहादुर सोडारीको क्षेत्रमा १० करोड ३५ लाख  सीमित मन्त्री र सांसदको क्षेत्रमा १० करोड देखि ३५ करोड सम्म बजेट पर्दा केहीलाई भने उपेक्षामा राखेको भन्दै नेकपा भित्रै बजेटप्रती असन्तुष्टि बढेको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस