रामारोशन पर्यटन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विकलाई नियुक्त गरेको छ। चैत ७ गतेको मन्त्रिस्तरको निर्णयले उनलाई अधिकृतमा नियुक्ति गरिएको हो ।
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती छ। यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको पनि बताइन्छ। रामारोशन गाउँपालिका–५ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा मैदानलाई जनाउँछ।
यो क्षेत्रमा बाह्रवटा ताल र अठार वटा ठुला–ठुला मैदानहरु छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा २२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो। जसको आकार अङ्ग्रेजी अक्षर ‘सि’ जस्तो छ । जुन बाटुले तालभन्दा माथि छ।


