सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूह र प्रहरीबीच भिडन्त, एक प्रहरी र एक विप्लव कार्यकर्ताकोे मृत्युु

। फोटो स्रोत ।
२०७६ असार २५, ११:१९

नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच भिडन्त हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भोजपुर सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो भने घाइते भएका  प्रहरी सोम भट्टराईको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीका अनुसार बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन्। जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको हो।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन्। घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। सो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेकको प्रहरीले जनाएको छ। विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो।
 

कमेन्ट लोड गर्नुस