सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी आन्दोलनको इतिहास र स्ववियुको आवश्यकता 

२०८१ चैत्र ११, ०६:०१ खबर संवाददाता

पुष्कर जोशी : इतिहास हेर्दा विस २००४ साल असार १ गते जयतु संस्कृतम् नामक विद्यार्थी सङ्गठन विद्यार्थी आन्दोलन नेपालको विद्यार्थी आन्दोलनको आधिकारिक विजारोपण भएको मानिन्छ। 

जसको विभिन्न उद्देश्य भए पनि राणाशासनको विरोधमा संघर्ष गर्नु मुख्य दायित्व थियो। हुन त नेपालको इतिहासमा १९९७ माघ १५ गते त्रिचन्द्रमा अध्ययनरत छात्र गङ्गालाल श्रेष्ठलाई राणाहरूले आफ्नो शासन सत्ताको विरोध गरेकै कारण विष्णुमतिको बगरमा लगेर गोली हानी हत्या गरेका थिए। त्यहाँबाट विद्यार्थी आन्दोलनको बिउ छरिएको मान्न सकिन्छ र क्रमशः आन्दोलनको चरणहरू अगाडि बढ्दै गएका हुन्।

२००७ सालको प्रजातन्त्रपछि विभिन्न छात्र संघ र विद्यार्थी फेडेरेसन खुले। २०२२ सालमा अखिल नेपाल सम्मेलनको स्थापना भयो। त्यहीँ जगमा अनेरास्ववियु, २०२७ सालमा नेविसंघ अन्य विद्यार्थी सङ्गठहरू निर्माण हुँदै गए। हाल आएर माओवादी घटक निकट विभिन्न अखिल क्रान्तिकारी), अनेरास्ववियु, नेविसंघ, अखिल (छैटौं) लगायत एकदर्जन विद्यार्थी सङ्गठनहरू क्रियाशील र सक्रिय छन्।

संक्षिप्तमा विद्यार्थी आन्दोलनको विगतमा फर्कौं ।त्रिचन्द्रमा अध्ययनरत गङ्गालाल श्रेष्ठले राणाहरूको विरोध गर्दा १९९७ माघ १५ गते राणाहरूको गोली खाएर सहिद भए। २००४ सालमा गठित जयतु संस्कृतम् नामक विद्यार्थी सङ्गठनले राणाशासनको विरोध ग¥यो, २००७ प्रजातन्त्र प्राप्तिपछि विभिन्न सङ्गठन खुल्दै गएर विद्यार्थी सङ्गठनको बिज अंकुरण हुन थाल्यो। २०१७ सालमा महेन्द्रले गरेको कुको विरोध र संघ सङ्गठनहरूमाथि लगाइएको प्रतिबन्धविरुद्ध र स्ववियु खोल्ने माग गर्दै तत्कालीन राजा महेन्द्रलाई विद्यार्थीहरूले कालो झन्डा समेत देखाएका थिए। त्यो बेलाको सबैभन्दा क्रान्तिकारी र सशक्त आन्दोलन थियो विद्यार्थी आन्दोलन। 

यसरी विद्यार्थी संघर्षहरू अगाडि बढ्दै गए र पछि गएर २०२२ सालमा स्पष्ट वैचारिक दृष्टिकोणसहित अखिल नेपाल सम्मेलन नाममा विद्यार्थी आन्दोलनको स्थापना भयो। जसले जनवादी शिक्षाको मुद्दालाई आफ्नो मुख्य लक्ष्य बनायो र वामपन्थी आन्दोलनसँग सम्बन्धि रह्यो। प्रगतिशील जनवादी शिक्षा नमान्ने हुँदा यसको विरुद्धमा २०२७ साल वैशाख ०६ गते नेविसंघको स्थापना भयो जो दक्षिणपन्थी आन्दोलनसँग सम्बंधित रह्यो अथवा तत्कालीन काङ्ग्रेस पार्टीसँगको आबद्धता रह्यो। 

यसरी विद्यार्थी आन्दोलनको क्रम अगाडि बढयो र राजनीतिक दलकै भ्रातृ सङ्गठनको रूपमा विद्यार्थी आन्दोलन अगाडि बढ्न थालेपछि पार्टीमा आउने टुट–फुट र विभाजनसँगै विद्यार्थी आन्दोलन पनि विभाजित हुन थाल्यो। आखिर जेसुकै भए पनि नेपालको विद्यार्थी आन्दोलन २०६५ सालसम्म गतिशील र सङ्गठित नै थियो। त्यसपछि विस्तारै प्रभावहीन हुँदै गएको आन्दोलनबाट त्याग, समर्पण, बलिदानको भावना हराउँदै गएको देखिन्छ। 

विगतमा विद्यार्थी आन्दोलन सङ्गठित भए पश्चात् विभिन्न आन्दोलनहरू भए ०३५/०३६ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन जसमा पञ्चायत ढाल्न विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रह्यो। ०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा समेत अखिल(क्रान्तिकारी) ले जनयुद्धलाई समर्थन ग¥यो र जनयुद्धको प्रथम सहिद गोर्खाका ११ वर्षे विद्यार्थी दिल बहादुर रम्तेल बन्न पुगे। ०६२/०६३ सालको जनआन्दोलनमा समेत विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका अग्रपंक्तिमा रह्यो र राजनीतिक परिवर्तनको आन्दोलनमा थुप्रै विद्यार्थी नेताहरूको सहादत पनि हुन गयो। राजनीतिक परिवर्तनको आन्दोलनसँगसँगै राष्ट्रियता, जनजिविका, जनतन्त्र र शैक्षिक मुद्दाहरूमा विद्यार्थी आन्दोलन सशक्त रूपमा नै अगाडि बढ्दै गएको छ।

स्ववियुको औचित्य र आवश्यकताः
विद्यार्थी आन्दोलनको मुख्य विषय स्ववियु निर्वाचन हो। विद्यार्थी आन्दोलनको ठूलो उपलब्धिको रुपमा रहेको स्ववियुको अस्तित्व माथि नै विभिन्न बेला बखत बहसहरु गुन्जिन थालेका छन्। पछिल्लो समय विश्वविद्यालयहरु स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने कुरामा सकारात्मक देखिएतापनि भित्री मनसाय स्ववियु निर्वाचन गराउनै पर्छ भन्ने देखिँदैन। 

विश्वविद्यालय प्रशासनको अनइच्छा र सत्ताधारी पार्टी निकटका विद्यार्थी संगठनहरुको कारणले पनि स्ववियु हुन सकिरहेको छैन। ती संठनहरूभित्र रहेका अनेकन गुटउपगुटहरू व्यवस्थापन गर्न नसक्दा र आफ्नैभित्रको भाडभैलोको कारण तिनीहरू यस्तो परिस्थितिमा स्ववियु निर्वाचन होस् भन्ने भित्रैदेखि चाहँदैनन्। एकातिर स्ववियु बचाउनु पर्ने चुनौती छ जो विद्यार्थीहरू हक अधिकारका लागि लड्ने साझा संस्थाको रूपमा रहन्छ भने अर्कोतिर वर्तमान परिस्थितिमा स्ववियुको औचित्य पुष्टि गर्नुपर्ने छ । स्ववियु कुनै राजनीतिक दललाई बलियो बनाउन हो कि ? 

विश्वविद्यालयमा हुने उपकुलपति, रजिस्ट्रार, डिनहरूको भागबन्डामा च्याखे थापेर हस्तक्षेप बढाउन हो। क्याम्पसमा हुने प्राध्यापक र कर्मचारीको सरुवा बढुवा गर्न र नयाँ भर्तीमा भागबन्डा खोज्न हो, क्याम्पसमा भएको भौतिक स्रोत र साधनमाथि कब्जा गर्न हो प्रश्नहरू यसरी उब्जिएका छन्। २०१६ सालमा  त्रि.वि.को स्थापना पश्चात ०१८/०१९ देखि नै विद्यार्थी युनियनको चुनाव भएको देखिन्छ। २०२० साल भदौमा पहिलो स्ववियु निर्वाचन भयो र ०३० सालसम्म हरेक वर्ष भयो। 

पन्चायतले प्रतिबन्ध लागाइसके पश्चात् भदौ ०३६ सालमा भयो त्यसपछि ०६५ सालसम्म भयो। त्यसपछि सिधैँ विवादै विवादका बीच आंशिक रुपमा ०७३ सालमा भयो र त्यसको लामो अंतराल पछि २०७९ सालमा स्ववियु निर्वाचन सम्पन्न पश्चात यसकै नियमितरुपमा ०८१ चैत्र ०५(त्री.वि.) चैत्र २७( सु.प.वि.)मा  निर्वाचन घोषणा गरिएको छ। विभिन्न परिस्थितिका कारण अहिले नै चुनाव सम्भव हुने नहुने कुरा यसै भन्न सकिँदैन।

यसरी इतिहास हेर्दा बाधा अवरोधका बीचमा र कहिले प्रतिबन्ध खपेर स्ववियु अगाडि बढेको देखिन्छ। स्ववियुले जन्माएका थुप्रै नेताहरू अहिले पनि राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण स्थानमा छन्। स्ववियुको नेतृत्वमा विभिन्न ठूला–ठूला संघर्षहरूमा विद्यार्थीहरूको सहभागिता पनि भयो। विगतको इतिहास गौरवपूर्ण नै छ तर अब समय परिस्थितिअनुसार परिमार्जन गर्दै नयाँ संस्कार संस्कृतिसहित स्ववियुको औचित्य पुष्टि गर्न सक्नुपर्छ। 

स्ववियु निर्वाचन औपचारिकताका लागि मात्रै होइन कि नेपालको संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचन प्रणाली भित्रका फोहरी खेलहरूको नक्कल त्याग्दै आम जनमानसमा नयाँ शिक्षा दिनेगरि गरिनु पर्छ। नत्र उही पुरानै फर्जी भर्ना गर्ने, एउटै क्याम्पसमा लाखौं–लाख खर्च गर्ने, मासुभात–जाडँरक्सी पार्टी गर्ने, जितेर गएपछि उही असनको साँढे फर्किने हो भने झन विकृति मौलाउने र एउटा विन्दुमा गएर स्ववियुको अस्तित्व समाप्त हुन्छ । जुन कुरा हरदम र हरप्रयासबाट रोक्दै स्ववियुको अस्तित्वलाई नयाँ ढंगबाट पुर्नजागरित गर्नुपर्छ। 

स्ववियु निर्वाचनको अर्थ र औचित्य तब मात्र हुन्छ जब विश्वविद्यालयहरू सकारात्मक आलोचनाका केन्द्र बन्छन, स्वतन्त्र र निर्वाद रूपमा वैचारिक र राजनीतिक छ्लफल, सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरणका बहसहरू हुन्छन्, शैक्षिक मुद्दाहरूबारे बहस जोडदार उठान हुन्छ। अन्यथा संसदीय चुनावहरूमा राजनीती दलको भोट बैंकको आधार बनाउने अड्डाको रूपमा स्ववियुलाई प्रयोग गर्नुको न कुनै अर्थ रहन्छ न स्ववियु निर्वाचनको औचित्य पुष्टि हुन्छ। अहिले देशमा स्चालित सबै विश्वविद्यालयहरूमा मरणासन्न अवस्थामा पुगेको स्ववियुलाई पुर्नजिवित गर्दै नयाँ प्रक्रियामा अगाडि बढाउनै पर्छ।
तसर्थ विगठनमा पुगेको विद्यार्थी आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी छ। आलोचनात्मक चेतविना मानव निर्माण हुँदैन् भन्ने अनुभूति हामीले गरिरहेका छौं। विश्वविद्यालय÷क्याम्पसमा पढ्ने विद्यार्थी र पढाउने प्राध्यापकहरुलाई चेत भएका बौद्धिक श्रमजीवी बनाउनका लागि नयाँ र रूपान्तरित स्ववियुको निर्माण गर्न आवश्यक छ।

सार संक्षेपमा विद्यार्थी आन्दोलनको कुरा गर्दा मुलतः शैक्षिक मुद्दामा विद्यार्थी आन्दोलनलाई केन्द्रित गर्नुपर्ने देखिन्छ। विद्यार्थी सङ्गठन र आन्दोलनको पहिलो मर्म शैक्षिक मुद्दाहरूमा जोडिएर शिक्षाको वैज्ञानिक रूपान्तरण गर्नु हो, आम सबैले पढ्न चाहुन्जेलसम्म सहजै शिक्षा प्राप्ति गर्न पाउने अधिकारको संघर्षलाई अगाडि बढाउनु हो। त्योसँगै देशको राष्ट्रियताको विषयमा, राजिनीतिक परिवर्तन, समाजको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको संघर्षमा योगदान पु¥याउनु हो। समग्रमा हेर्दा विद्यार्थी आन्दोलन चेत र होसहवास हराएको जस्तो देखिन्छ, तसर्थ विद्यार्थी आन्दोलनको चेत र होसहवास फर्काउनु नै हाम्रो मुख्य जिम्मेवारी हो। 
स्ववियुको आवश्यकताः

नयाँ राजनीतिक संस्कृतिको विकास
जुन ठाउँगाउँ र सहरमा विश्वविद्यालय/क्याम्पसहरू हुने गर्दछन् त्यहाँ नयाँ सभ्य संस्कृतिको निर्माण हुनुपर्दछ। तर, अहिले हाम्रो विश्वविद्यालयमा असाध्यै विकृत संस्कृतिले जरा गाडेको छ। विद्यार्थीहरूका जायज मागका लागि नभएर पार्टीगत, सांगठनिक र  व्यक्तिगत स्वार्थ पूरा गर्न आन्दोलन गरेर महिनौंसम्म ताला झुन्डाउने, गुण्डागर्दी र दादागिरीको भरमा विश्वविद्यालय र क्याम्पसको नेता बन्ने, प्राध्यापक र कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट विमुख हुने संस्कृति मौलाएको छ। 

यस्ता विकृतिहरूविरुद्ध संघर्ष गर्दै विश्वविद्यालय÷क्याम्पसमा पठन, खोज, अध्ययन, अनुसन्धान संस्कृतिको निर्माण गर्नमा स्ववियुको महत्त्वपूर्ण भूमिका रहन्छ। तर विगतकै निरन्तरताको स्ववियुले त्यो गर्न असम्भव हुन्छ। त्यसको लागि सुस्पष्ट विचार, दृष्टिकोण र प्रस्तावहरूसहित स्ववियुलाई अगाडि बढाउन सबै निकाय प्रतिवद्ध हुन जरुरी छ। शिक्षालयहरूबाट मानव समाजलाई प्रगतितिर अगाडि बढाउने सुन्दर संस्कृतिको सुरुआत तब मात्रै सम्भव छ।

विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य :
आज विश्वविद्यालयहरूमा हुने राजनीतिक भागबन्डाको सख्त खिलाफमा उभिने स्ववियु चाहिएको छ। त्यहाँ च्याँखे थाप्ने स्ववियु होइन। योग्यता, क्षमता, वरिष्ठता र प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति चुनौतीपूर्ण संघर्ष स्विकार्दै यस्ता विकृति निमिट्यान पार्न स्ववियुको भूमिका महत्त्वपूर्ण हुने गर्दछ। विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको विकृति समाप्त पार्ने स्ववियु आजको आवश्यकता हो। विश्वविद्यालय÷क्याम्पसहरूमा भइरहेको स्ववियु निर्वाचन ठ्याक्कै संसदीय निर्वाचनकै नक्कल छ। दलबल र धनबलमा आधारित निर्वाचन प्रणाली खारेज गर्न जरुरी छ। 

वार्षिक कार्यतालिका कार्यान्वयन  ः
अहिले विश्वविद्यालयको वार्षिक कार्यतालिका एकातिर छ।  विश्वविद्यालयका गतिविधि र कामकार्यवाहीहरू अर्कोतिर छ्न। समय सीमाभित्र भर्ना, पठनपाठन,  परीक्षा, परीक्षाफल प्रकाशित गर्न निरन्तर संघर्ष गर्ने स्ववियु चाहिएको छ । स्ववियुले यी सबै समस्याहरूको समाधान गर्न लागि पहलकदमी लिने हुन सक्नुपर्दछ।

रचनात्मक र सिर्जनात्मक काम :
विश्वविद्यालय कुनै निश्चित पाठयक्रमको चौघेरा मात्रै समिति हुने ठाँउ होइन। तर आज विश्वविद्यालय÷क्याम्पसहरूमा प्रायः शून्यता छाएको छ। विद्यार्थी झोला बोकेर क्याम्पस आउने र पठनपाठन गरेर घर फर्किने भएको छ। स्ववियुले विश्वविद्यालय÷क्याम्पसमा रचनात्मक र सिर्जनात्मक कामहरू अगाडि बढाउनु पर्ने हुन्छ। जुन विगतमा देखिएन। मानवीय क्षमताको प्रस्फुटन हुने थलोको रुपमा विश्वविद्यालय÷क्याम्पसहरूलाई  विकास गरेर लैजानु पर्दछ जसका लागि स्ववियु एउटा महत्त्वपूर्ण आधार हो ।

शिक्षा प्रणालीमा सुधार :
आज विश्वविद्यालयहरूका पाठयक्रमहरू विदेशी नक्कलगरी निर्माण गरिएका छन् । आजको समय र देशको आवश्यकतालाई परिपूर्ति गर्ने माटो सुहाउँदो शिक्षा, श्रम संस्कृतिको निर्माण गर्ने शिक्षा, मान्छे र प्रकृतिको हित हुने न्याय, स्वतन्त्रता र समानतामा आधिरित शिक्षाका लागि स्ववियु बाट नयाँ बहसको उठान हुनुपर्दछ। स्ववियुले अरुबाट नक्कल गरिएको पुरानो शिक्षा प्रणाली खारेजीको अभियान र आउँदो पुस्ताको भविष्यका लागि देशको आजको आवश्यकता पूर्ति गर्न सक्ने वैज्ञानिक शिक्षा प्रणालीको स्थापनाको संघर्षलाई नयाँ आधारशीला तयार गर्न मद्दत गर्नु पर्दछ। सर्वसुलभ, वैज्ञानिक र जीवनपयोगी शिक्षाको पक्षमा जागरण फैलाउने स्ववियु अनिवार्य बनेको छ।
 

कमेन्ट लोड गर्नुस