सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षेत्रीय सहरी आयोजनाः कैलाली–कञ्चनपुरमा सडक निर्माण सुरु गर्न दुई महिना लाग्ने

२०७६ असार २५, ०६:४७ खबर संवाददाता

क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत कैलाली र कञ्चनपुरमा सडक निर्माणको कार्य सुरु गर्न कम्तिमा दुई महिना लाग्ने भएको छ। एसियाली विकास बैैकको ऋण सहयोगमा लागु गरिएका आयोजना अन्तरगत कैलालीको धनगढी र गोदावरी तथा कञ्चनपुरको  शुक्लाफाटामा सडक निर्माण सुरु गर्न अझै दुई महिना लाग्ने भएको हो। सडक निर्माणका लागि पहिलो पटक बैशाख १२ गते ४५ दिनको समय राख्दै बोलपत्र आह्वान भएकोमा कसैले पनि टेण्डर नहालेपछि १५ दिन थप्दै फेरी सुचना प्रकाशन गरिएको थियो। थप गरिएको समयमा गोदावरी नगरपालिकामा १० तथा धनगढी उप–महानगरपालिका र कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा सडक निर्माणका लागि ८–८ गरि जम्मा २६ वटा टेण्डर परेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीले जनाएको छ। 

असार १५ गते टेण्डर खोलिएकोमा अहिले प्राविधिक मुल्याङकन भईरहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन गर्दै आएको संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका सुचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बताए। ‘पहिलो चरणमा २६ वटा आवेदनमाथि प्राविधिक मुल्याङकन भईरहेको छ,’ उनले भने, ‘दोश्रो चरणमा प्राविधिक मुल्याङकनमा उपयुक्त भएका आवेदनमाथि आर्थिक मुल्याङकन हुने छ।’ आयोजना कार्यालयले मुल्याङकन गरिसकेपछि स्वीकृतिका लागि फेरी एसियाली विकास बैंकमा पठाउनुपर्ने भएकाले ठेक्का सम्झौतामै अझै एक महिना बढि समय लाग्ने सुचना अधिकारी बुढाथोकीले बताए। 

उनले ठेक्का सम्झौता गरि निर्माण व्यवसायीलाई निर्माणका लागि कार्यादेश दिन अझै कम्तिमा दुई महिना समय लाग्ने बताए। आयोजना कार्यालयका अनुसार आयोजना अन्तरगत धनगढी उप–महानगरपालिकामा १०, गोदावरी नगरपालिकामा १६ र शुक्लाफाटा नगरपालिकामा ८ गरि ३४ किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान भएको थियो। तीन वटै नगरमा डिजायन स्टीमेट अन्य सडकहरुको भएपनि बजेट अपुग भएको भन्दै सडक घटाएर बोलपत्र आह्वान गरिएको थियो। धनगढीमा पनि सुरुमा ४२ किलोमिटर सडक निर्माणका लागि डिजायन स्टीमेट बनाईएकोमा पछि बजेट अपुग भएको भन्दै १० किलोमिटर सडक मात्रै निर्माणका लागि बोलपत्र आह्वान भएको थियो। अधिकासं क्षेत्रमा कम चौडाईको सडक निर्माण भईरहेकाले क्षेत्राधिकार खाली गर्नु पर्ने अवस्था भने नरहेको संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीले जनाएको छ। 

यता भीमदत्त नगरपालिकामा निर्माण हुने सडकको भने अझै प्रक्रिया अगाडी बढेको छैन्। भीमदत्त नगरपालिकामा सडकको डिजायन गर्नमा ढिलाई भएकाले अव केही दिनमा बोलपत्र आह्वान गरिने आयोजना कार्यालयले जनाएको छ। चार वटै नगरमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्र, फोहोर पानी प्रशोधन केन्द्र र २ नगरमा निर्माण हुने कार्यालय भवनको प्रक्रिया भने अगाडी बढेको छैन्।
 

कमेन्ट लोड गर्नुस