सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसिया जानेको स्वास्थ्य परीक्षण गर्न थपिएका ९९ संस्था छनोटमा लापरबाही भएको भन्दैै मेडीकल व्यवसायीले गरे उजुरी दर्ता

। फोटो स्रोत ।
२०७६ असार २४, ०६:०७

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न थपिएका ९९ वटा स्वास्थ्य संस्था छनोटमा लापरबाही भएको भन्दै मेडिकल व्यवसायीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजुरी दर्ता गरेका छन्। स्वास्थ्य संस्था अनुगमन टोलीले लापरबाही र पूर्वाग्राही तरिकाले चिनजान र लेनदेनको आधारमा आफूखुसी छनोट गरेको आरोप लगाउँदै उजुरी गरेका हुन्। 

सरकारका तर्फबाट सूचीकृत भएका ९९ स्वास्थ्य संस्थालाई पुनः अनुगमन तथा निरीक्षण गरेर मात्रै अन्तिम सूचीकरण गरिनु पर्ने भन्दै व्यवसायीले माग गरेका छन्। पुनः निरीक्षण गर्नुपर्नेमा विभिन्न प्रकरण उल्लेख गर्दै व्यवसायीहरुले मन्त्रालयमा उजुरी पेश गरेका छन्।अनाधिकृत रुपमा बायोमेट्रिक प्रणाली खडा गरी ठगी गरेको भन्दै विभिन्न स्वास्थ्य संस्थाका संचालकलाई पक्राउ गरी अदालतमा मुद्दा विराचाराधीन रहेको अवस्थामा खारेज गर्नुपर्ने संस्थालाई मलेसियाका लागि समेत सूचीकरण गर्नु प्रचलित कानुन विपरीत भएकाले त्यस्ता संस्थाहरुको सूचीकरण खारेज गर्न माग गरिएको छ। 

ठगीको आरोपमा कारबाही भइरहेका संस्था र ती संस्थाको छाता संगठनको प्रतिनिधि विशेषज्ञ समितिको बैठकमा राखेर निर्णय गरिएकाले सूचीकरणको निर्णय प्रभावित भएको देखिएकाले निर्णयको पुनर्विचार गर्नुपर्ने व्यवसायीको आग्रह छ। कतिपय संस्थामा राखिएका बिग्रिएका पुराना उपकरणलाई आधार मानेर प्रतिवेदन तयार गरिएकाले पुनः निरीक्षण गरिनुपर्ने बताएका छन्। औजार उपकरणको ब्राण्ड र सिरियल नम्बरसमेत नटिपेको हुनाले एउटै उपकरण १० वटाभन्दा बढी संस्थामा र्पुयाएको व्यवसायीले उल्लेख गरेका छन्। उजुरी दिने व्यवसायीको विवरण भने गोप्य राखिएको छ। 

यस्तै सरकारले स्वास्थ्य संस्था छनोट गरी सूचीकृत गर्दा गोप्य रुपमा धेरै अनियमितता वा चलखेल भएको हुन सक्ने आशंका व्यवसायीको छ। श्रम मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिएका ९९ नयाँ स्वास्थ्य संस्था सम्बन्धी चित्त नबुझेमा उजुरी ३ दिन भित्र उजुरी दिन भन्दै आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो। उजुरीका आधारमा पुनः सूचीकृत स्वास्थ्य संस्थाका सम्बन्धमा आवश्यक कारबाही अगाडी बढाउने श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस