सुदूरपश्चिमबाट एसईईमा झण्डै ५९ हजार विद्यार्थी सहभागी

धनगढीः आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिम प्रदेशबाट झण्डै ५९ हजार विद्यार्थी सहभागी भएका छन्। सुदूरपश्चिमका नौ जिल्लामा गरी एसईईमा ५८ हजार ९ सय ४३ विद्यार्थी सहभागी भएका हुन्।
शिक्षा विकास निर्देशनालय दिपायलका अनुसार ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र एसईई परीक्षामा सहभागी भएका छ। साधारणतर्फ ४३ हजार ९२३, प्राविधिक धारतर्फ २ हजार ९२ र ग्रेड वृद्धितर्फ १२ हजार ९ सय २८ विद्यार्थी एसईईमा सहभागी भएको निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले जानकारी दिए।
उनका अनुसार एसईईका लागि प्रदेशभर २ सय २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। ५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४ सय ८८ विद्यार्थी रहेका छन्। यस्तै, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा ५ हजार ३ सय ६२, २६ केन्द्र रहेको अछाममा ५ हजार २९, १५ केन्द्र रहेको डोटीमा ४ हजार ६२ विद्यार्थी सहभागी रहेका छन्।


त्यसैगरी २० केन्द्र रहेको बझाङमा ४ हजार ६ सय ४४, १७ केन्द्र रहेको दार्चुलामा ३ हजार ३७, १७ केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी र १३ परीक्षा केन्द्र रहेको डडेल्धुरामा २ हजार ८ सय २ विद्यार्थी एसईईमा सहभागी भएका छन्। परीक्षा निष्पक्ष, भयरहित र शान्त वातावरणमा भइरहेको उनले बताए। परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ।

