सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान नहुँदा परनिर्भर हुनुपर्ने बाध्यता

२०७६ असार २४, ०७:३२ खबर संवाददाता

सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानको तत्कालै आवश्यकता देखिएको छ। प्रदेशमा एउटा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान नभएकाले स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको विकास र विस्तारका लागि प्रतिष्ठानको खाँचो देखिएको हो।  अहिले प्रदेशभरी एउटा पनि प्रतिष्ठान नहुँदा यस क्षेत्रको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको भर पर्नुपर्ने बाध्यता रहेको छ।

स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक सुधारका लागी पहल गर्न प्रदेशभरी एउटा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान नभएका कारण केही समय अगाडी मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौता गर्नुपरेको समाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले बताए। 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अञ्चल अस्पतालमा शैक्षिक कार्यक्रमको लागी आवश्यक पर्ने सामाग्री, भौतिक पूर्वाधार र प्राविधिक सहयोग गर्ने लगायतका बुदामा सम्झौता भएको उनले बताए। 

‘अञ्चल अस्पतालमा पहिलो चरणमा स्थायी सरकारी चिकित्सक शैक्षिक कार्यक्रमहरू शुरू हुनु पूर्व प्रतिष्ठानको नियमानुसार संकाय दिनुपर्ने र पछि अन्य चिकित्सकहरूलाई क्रमशः आवश्यकता अनुसार संकायमा थप गर्दै जाने, संकायमा समावेश चिकित्सकहरूलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नियमानुसार शैक्षिक भत्ता उपलब्ध गराउनु पर्ने कुरामा पनि समझदारी भएको छ,’ उनले भने, ‘सुदूरपश्चिममै स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको भए कर्णालीसंग सम्झौता गर्न पर्ने अवस्था आउने थिएन्।’ 
अहिले गेटामा निर्माणाधिन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदै ६ सय शैयाको अस्पताल र एमविविएस पढाई सुरु गरे स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने धेरेको दावी छ। 
 

कमेन्ट लोड गर्नुस