सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा विद्यालयहरूको गुणस्तर सुधार्न अनुगमन गरिदैँ

२०८१ चैत्र ५, ०४:२९ खबर संवाददाता

बझाङः बझाङमा विद्यालयहरूको गुणस्तर सुधार्न अनुगमन गरिदैँ छ।

सामुदायिक विद्यालयमाथि पालिकाले अनुगमन बढाइएका छन्। बझाङको जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले सामुदायिक विद्यालय र निजी विद्यालयको शैक्षिक गुणस्तरको वास्तविकता मापन गर्न प्रत्यक्ष निगरानी गरिरहेका छन्।

पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको स्थानीयबाट गुनासो आउन थालेपछि यहाँका पालिकाले आफ्नो प्रत्यक्ष संलग्नतामा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, अनुगमन मूल्याङ्कन गर्ने कार्यको थालनी गरिरहेका छन्। दक्ष शिक्षक रहेको सामुदायिक विद्यालयका अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर खस्कने अवस्थामा पुगेपछि पालिकाले निगरानी बढाएका हुन्।

गत वर्ष कक्षा ८ मा अध्ययनरत छात्रछात्राको शैक्षिक गुणस्तर मापन गर्नका लागि पालिकाले नै प्रश्नपत्र तयार गरेर पालिकाका सबै विद्यालयमा एकै पटक परीक्षा लिएर उत्तरपुस्तिका पनि पालिकाले नै जाँच गरेर नतिजा सार्वजनिक गरेको थियो। यस वर्ष भने जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले कक्षा ४ देखि ९ सम्मको परीक्षा पालिकाले लिएको हो।

परीक्षा केन्द्रसमेत निर्धारण गरेर पालिकाले अनुगमन समिति तयार गरेर परीक्षा केन्द्रमा अनुगमन तथा निगरानीसमेत बढाएको हो। जयपृथ्वी नगरपालिकाले नगरपालिकाभित्र रहेका २३ वटा सामुदायिक विद्यालयको पालिकास्तरीय परीक्षा लिइरहेको छ। जयपृथ्वी नगरपालिकाले नै विज्ञ टोलीमार्फत प्रश्नपत्र तयार गरेर परीक्षा लिन सुरु गरेको नगरप्रमुख चेतराज बजालले बताए।

यसका साथै शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासँग छलफल र बहससमेत सञ्चालन गरिरहेका छौँ, विद्यालयसँग सरोकार राख्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी–शिक्षक, अभिभावक र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र निर्वाचित जनप्रतिनिधि सबैलाई एकै ठाउँमा राखेर बहस तथा छलफलसमेत अघि बढाएको उनले बताए।

अहिले जयपृथ्वी नगरपालिकामा मात्रै तीन हजार ४५ जना छात्रछात्रा परीक्षामा सामेल भएका छन् । पालिकाले प्रश्नपत्र तयार गर्नुका साथै पालिकाले नै उत्तरपुस्तिकासमेत उपलब्ध गराएको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक नीरज रेग्मीले बताए। यस वर्ष भने थलारा गाउँपालिकाभित्र रहेका कक्षा ४ देखि ९ सम्म अध्यापन गराउने २६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राको परीक्षा पालिकाले नै लिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले बताए।

जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले शिक्षाको अवस्था सुधार गर्न पालिका वडादेखि आमसमुदायको उत्तिकै भूमिका रहेका कारण सबै एकताबद्ध भएर लाग्न जरुरी रहेको बताए। उनले विद्यालयको समायोजन गर्ने र दरबन्दी मिलान गर्नेदेखि अभिभावक शिक्षा, शिक्षकको क्षमता अभिवृद्धि गर्ने खालका कृयायाकलापसमेत नगरपालिकाले अघि सारेको बताए।

 

कमेन्ट लोड गर्नुस