सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीताके च्याउमा भविष्य खोज्दै डडेलधुराका अन्तराम जोशी

२०८१ चैत्र २, ०५:४९ रासस

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी विदेश नजाने सोचका साथ गाउँमै सीताके च्याउखेती गरेर मनग्य आम्दानी गरिरहेका छन।

रोजगारको सिलसिलामा भारत तथा मलेसियामा लामो समय बिताएका जोशी साथीभाइको लहलहैमा लागेर युरोपियन मुलुक पोल्याण्ड जाने सपना बुनेर काठमाडौँ पुगे। पोल्याण्डको भिसा प्रक्रियाका क्रममा खर्च जुटाउन काठमाडाँैकै विभिन्न कृषि फार्ममा काम गरेका अन्तरामलाई त्यहाँ सिकेको सीपले आत्मनिर्भर बनायो।

गन्यापधुरा गाउँपालिकाले विदेशबाट फर्किएका कोरोना प्रभावित युवालाई सहयोग गर्ने कार्यक्रमअनुसार च्याउको बीउमा ५० प्रतिशत अनुदानमा दिएपछि अन्तरामको च्याउखेतीको अध्याय सुरु भयो। विस्तारै कृषि ज्ञान केन्द्रको सहयोगले च्याउखेती विस्तार गर्न सहयोग पुगेको उनले भने।

डडेल्धुराको बजारमा कन्ये च्याउको उत्पादन प्रशस्त भएकाले आफ्नो उत्पादनको बजारीकरणमा समस्या हुने आँकलन गर्दै उनले गोब्रे र सीताके च्याउखेती सुरु गरे। उनले च्याउ फार्म सुरु गरेको दोस्रो वर्ष अर्थात् २०७९ मा ५० मुढाबाट सीताके च्याउखेती सुरु गरे। डडेलधुरामा उत्पादन र बजारको दृष्टिकोणले च्याउखेतीको सम्भावना रहेको र किसानलाई च्याउखेतीका लागि आफूहरुले पनि सहयोग गरिरहेको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र राज पनेरुले बताए।

उनका अनुसार अहिले सात सयभन्दा बढी मुढामा सीताके च्याउ उत्पादन भइरहेको छ। च्याउ उत्पादनमा सुदूरपश्चिममै नमुना फार्म बनाउने उद्देश्यका साथ दुई हजारभन्दा बढी मुढामा च्याउ उत्पादन गर्ने योजना रहेको अन्तरामले बताए। ‘पोल्याण्डको भिसा नलागेकामा कुनै पछुतो छैन, अहिले सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत भइरहेको छ’, उनले भने। सातै आगामी वर्षबाट च्याउको उत्पादन बढाएर आम्दानी अझ बढाउने उनको सोच छ।

कसरी उत्पादन हन्छ सीताके च्याउ ?

यो च्याउको उत्पादन काठको मुढामा गरिन्छ। बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ। यसका लागि प्रायः कटुसको काठ प्रयोग गरिन्छ। काठमा प्वाल पारेर भित्र बीउ राखिन्छ। बीउ राखेको चार महिनासम्म सो मुढालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ। बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ।

उत्पादन भइसकेपछि मुढालाई भिजाउनुपर्छ। प्रत्येक ५१ दिनमा मुढालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ। प्रयोग भएको काठको मुढाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्लेको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस