रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

किएभ: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गर्दै आफ्ना राजदूतले प्रस्तावित ३० दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको बताएका छन् ।
गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।


कुस्र्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका लागि शान्ति वार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’को रूपमा यस क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजनामा ठूलो धक्का हुनेछ ।

रुसी टेलिभिजनमा प्रसारण भएको सम्बोधनमा पुटिनले भने, 'हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।'

पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण समेत आह्वान गरे । भने, 'यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।'
ट्रम्पले युक्रेनका हजारौं सैनिकलाई रुसी सेनाले पूर्णरुपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताएका छन् ।
जेलेन्स्कीले किएभमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भने अवस्थाबारे समीक्षा गर्दै भनेका छन्, 'कुस्र्क क्षेत्रको अवस्था पक्कै पनि धेरै कठिन छ तर अभियानको अझै पनि महत्व छ ।' उनले पूर्वी सैन्य बदोवस्तीका सामानको केन्द्र रहेको पोक्रोभ्स्कमा नियन्त्रण कायम राख्न लडिरहेका युक्रेनी सेनामाथिको दबाब कम गर्दै रुसलाई अग्रपंक्तिमा रहेका अन्य क्षेत्रबाट सेना फिर्ता बोलाउन बाध्य पारिएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजदूत स्टिभ विटकोफ र पुटिनबीच बिहीबार भएको भेटवार्ताबारे जानकारी दिँदै अमेरिका र युक्रेनबीच ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव गरेका हुन् । 'हामीले हिजो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै राम्रो र फलदायी छलफल गरेका थियौं र यो भयानक र रक्तपातपूर्ण युद्धको अन्त्य हुने निकै राम्रो सम्भावना छ,' ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म) मा भनेका छन् ।