सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताललाई पाँच सय शैयामा स्तरोन्नती गर्ने योजना अलपत्र

२०७६ असार २३, ०३:१८ कमल सावद

सुदूरपश्चिम प्रदेश सरकारले सेती अस्पताललाई पाँच सय शैयामा स्तरबृद्धिका गर्न ल्याएको योजना अलपत्र परेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा सेती अस्पतालई पाँच सय शैयामा स्तर बृद्धि गर्न सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएपनि कार्यान्वयन हुन सकेको छैन्। सामाजिक विकास मन्त्रालय सम्भाव्यता अध्ययनका लागि छुट्याईएको पाँच लाख बजेट खर्च गर्न असफल भएको छ। सम्भाव्यता अध्ययनका लागि ढिलोगरी सूचना प्रकाशन गरेको मन्त्रालयले आर्थिक लेनदेन नमिलेका कारण सम्झौता समेत नगरेको आरोप लागेको छ।

सम्भाव्यता अध्ययनको प्रक्रिया नै अगाडी नबढेपछि सेती अस्पताललाई पाँच सय शैयामा स्तरोन्नती गर्ने योजना अगाडी बढ्न ढिलाई हुने देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले गत जेठ १३ गते सम्भाव्यता अध्ययनका लागि संस्था छनौट गर्न प्रकाशन भएको सूचना खारेज भएको जानकारी दिए।

मन्त्रालयले पाँच सय शैयाको अस्पतालको सम्भाव्यता अध्ययनका लागि संस्था छनौट गर्न सूचना जारी गरेको थियो। सूचना प्रकाशन भएपछि तीन संस्थाहरुले आवेदन दिए। तर मन्त्रालयले असार ४ गते सूचना खारेज गर्ने निर्णय गरेको छ। आर्थिक लेनदेनमा कुरा नमिलेपछि सूचना खारेज भएको स्रोतले दिनेश खबरलाई बताएको छ।

सामाजिक विकास मन्त्रालयले आवेदन दिएका संस्थाको सम्पर्क नम्बर भने  दिन मानेन्। मन्त्रालयका प्रवक्ता विष्ट र मन्त्रालयका सूचना अधिकारी हेमराज खण्डकाले संस्थाहरुको सम्पर्क नम्बर नभएको बताए। प्रदेशको रेफरल अस्पताल सेतीलाई पाँच सय शैयामा स्तरबृद्धि गर्ने राजनीतिक दलका नेताहरुले निर्वाचनका बेला दावी गरेका थिए।

प्रदेशका मुख्यमन्त्री र पूर्व सामाजिक विकास मन्त्रीले अस्पतालको अनुगमन गर्दै पाँच सय शैयामा स्तरबृद्धि गर्ने घोषणा नै गरेका थिए। अहिलेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि पटक–पटक सेती अस्पतालको अनुगमन गर्दै आएका छन्। उनले पनि अस्पताललाई स्तरबृद्धि गर्ने बताउदै आएका छन्।

तर निर्वाचीत जनप्रतिनिधि र प्रदेशका मन्त्रीहरुको आश्वासन पुरा नगर्दा अस्पतालमा शैया, उपकरण र जनशक्तिको चरम अभाव छ। झन सम्भाव्यता अध्ययनको योजना पनि अगाडी नबढेपछि स्तरोन्नतीको आश्वासन पुरा हुनेमा आशंका बढेको छ। सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्रट हेमराज पाण्डेयले स्तरबृद्धिको सम्भाव्यता अध्ययनको योजनाका विषयमा कुनै जानकारी नभएको बताए।

उनले पाँच सय शैयामा स्तरबृद्धिका लागि अध्ययन आवश्यक रहेको बताए। तर मन्त्रालयले सम्भाव्यता अध्ययनको योजना पनि कार्यान्वयन गर्न नसक्नु दुःखद भएको उनको भनाई छ। ‘मन्त्रालयले अस्पतालको पाँच सय शैयाको अध्ययनको योजनाका बारेमा हामीलाई जानकारी छैन्। मन्त्रालयले समन्वय पनि गरेको छैन्। समन्वय गरेको भए हामी पनि सहयोग गर्ने थियौ।’ उनले भने। ‘सेतीलाई पाँच सय शैयामा स्तरबृद्धि गरे सरकारले तय गरेको मापदण्डको जनशक्तीको दरबन्दी, उपकरण र भौतिक पूर्वाधारका तयार हुनुपर्छ।’  पाण्डेले भने।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा अस्पताल स्तरोन्नतीको सम्भाव्यता मात्रै होईन ट्रामा सेन्टर, स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षेत्रिय आर्युवेदिक प्रतिष्ठानका लागि सम्भाव्यता अध्ययनको योजना पनि कार्यान्वयन गर्न सकेको छैन्। कुनै पनि सम्भाव्यता अध्ययनका योजनाहरु कार्यान्वयन नभएपछि प्रत्येक योजनाका लागि विनियोजन गरिएको ५÷५ लाख बजेट फ्रिज जाने भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्क्ता झंकरबहादुर विष्टले चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययनका योजनाहरु समय अभावका कारण कार्यान्वयन गर्न नसकिएको बताए। ‘चालु आर्थिक वर्षमा प्राविधिक कारणले सम्भाव्यता अध्यानका योजनाहरु कार्यान्वयन गर्न सकिएन, समय पनि कम भयो। आगामी आर्थिक वर्ष २०७६÷०७७ मा सम्भाव्यता अध्यानका लागि वजेट विनियोजन भएको छ। पूर्ण रुपमा कार्यान्वयन हुन्छ।’ उनले भने ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस