सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकमै निर्माण सामाग्री राख्दा आवतजावत नै अवरुद्ध

उप–महानगरपालिकाको वडा नम्बर ४ उत्तरवेहडीको शाखा सडकमा थुपारिएकाे सामाग्री
उप–महानगरपालिकाको वडा नम्बर ४ उत्तरवेहडीको शाखा सडकमा थुपारिएकाे सामाग्री
२०७६ असार २३, ०३:०४ खबर संवाददाता

धनगढीका विभिन्न सडकहरुमा निर्माण सामाग्री थुपार्ने क्रम बढ्दै गएपछि आवतजावतमा सास्ती हुन थालेको छ। उप–महानगरपालिकाले नै शुल्क तिरेर सामाग्री राख्न पाउने व्यवस्था गरेसंगै उप–महानगर क्षेत्रका सडकहरुमा निर्माण सामाग्री थुपार्ने क्रम बढ्दै गएको हो। उप–महानगरपालिकाको वडा नम्बर ४ उत्तरवेहडीको शाखा सडकमा घर निर्माणका लागि आवश्यक पर्ने सामाग्रीहरु विच सडकमा नै थुपारिएको छ। जस्ले गर्दा स्थानीयलाई आवतजावतमा निकै सास्ती हुने गरेको छ। उक्त सडक भएर साईलक र पैदल यात्रीले मात्रै आवतजावत गर्न सक्ने अवस्था छ। 

यस्तै धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को तारानगरमा पनि विच सडकमा नै निर्माण सामाग्री थुपारिएको छ। लामो समयसम्म घर निर्माणका लागि चाहिने गिट्टी, वालुवा लगायतका निर्माण सामाग्रीहरु बिच सडकमा नै थुपारिएपछि आवातजावात गर्न निकै समस्या भईरहेको छ। तिव्र शहरीकरण भईरहेको धनगढीमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा उप–महानगर नै अस्तव्यस्त बन्न थालेको छ भने दुर्घटनाको जोखिम समेत बढ्दै आएको छ। 

तर धनगढी उप–महानगरपालिकाले भने गत बर्ष सडकमा निर्माण सामाग्री राख्ने कार्यलाई वैधानिकता दिने निर्णय गरेको थियो। सडकमा निर्माण सामाग्री राख्नका लागि उप–महानगरवासीले उप–महानगपालिकाबाट अनुमति लिनुपर्ने तर राख्न पाउने नियम बनाएको थियो। आर्थिक बर्ष २०७५÷०७६ का लागि धनगढी उप–महानगरपालिकाको स्वीकृत गरेको करका दरमा सो कुरा उल्लेख गरिएको छ। सडकमा निर्माण सामाग्री राख्दा उप–महानगरपालिकाबाट अनुमति लिनुपर्ने र त्यसपछि प्रति घनमिटरको साप्ताहिक रुपमा ५ रुपैँयाका दरले कर तिर्नुपर्ने नियम बनाएको थियो। सडकमा निर्माण सामाग्री राखेकै कारण नगर कुरुप बन्दै गएका बेला उक्त कार्यलाई वैधानिकता दिने उप–महानगरपालिकाको निर्णय उपयुक्त नभएको नगरवासीले बताउँदै आएका छन्। 

कमेन्ट लोड गर्नुस