सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भन्दा कांग्रेसका सांसदको क्षेत्रमा बढि बजेट

२०७६ असार २३, ०१:२३ जनक विष्ट

भरत बहादुर खड्का नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन्। डोटी प्रदेश क बाट निर्वाचित भएका सांसद खड्का प्रदेश सरकारले असन्तुलित बजेट ल्याएको भन्दै संशोधनको माग गर्दै रातो किताब जलाएर विरोधमा उत्रिएका थिए। प्रमुख प्रतिपक्षी दल कांग्रेस भित्र तुलनात्मक रुपले प्रदेश सरकारको बजेट असन्तुलित र अपरादर्शी भएकाले संशोधनको एजेण्डालाई चर्को रुपमा उठान गर्ने सांसदका रुपमा पनि उनी चिनिएका छन्।

नेपाली कांग्रेस र राजपा भद्र सहमतीको नाममा सरकारसंग भागबण्डा गरी अन्ततः बजेट संशोधनको एजेण्डाबाट  पछि हटेका छन्। प्रतिपक्षी सांसद मात्र नभएर सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रती नेकपा भित्रको असन्तुष्टि सतहमा देखिएका बेला कांग्रेस सांसद खडका भने आफ्नो निर्वाचन क्षेत्रमा मुख्यमन्त्री, केही मन्त्री र नेकपाकै सांसद भन्दा बढि बजेट पार्न सफल भएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत ८ अर्ब ९६ करोड बजेट राखिएको छ। जसमा प्रदेशका मुख्यमन्त्री, सभामुख र चारजना मन्त्रीको क्षेत्रमा २० प्रतिशत बजेट पर्दा कांग्रेस सांसद खडका सहित १३ जना सांसदको क्षेत्रमा झण्डै ३० प्रतिशत बजेट परेको छ। तर सभामुख अर्जुन बहादुर थापा र भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोरा पछि सबैभन्दा बढि बजेट पाउनेमा खड्का पहिलो छन्।  

भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोराको निर्वाचन क्षेत्र डडेल्धुरा प्रदेश क मा सडक, पुल तथा झोलुङ्गे पुलका २२ वटा योजनामा १४ करोड, शहरी विकास तथा भवन तर्फका ६ वटा योजनामा एक करोड २२ लाख, जलस्रोत तथा सिँचाईका ८० योजनामा १४ करोड ६१ लाख र खानेपानी तथा सरसफाईका एक सय ५ योजनाका लागि चार करोड ८५ लाख गरी ३४ करोड ६८ लाख बजेट छुट्याईएको छ।

त्यसपछि सभामुख अर्जुन बहादुर थापाको निर्वाचन क्षेत्र बझाङ प्रदेश क मा विभिन्न दुई सय ६५ योजनामा २५ करोड ६८ लाख बजेट छुट्याईएको छ। जसमा सडक, पुल र झोलुङ्गे पुलका ५३ योजनामा १० करोड, सहरी विकास तथा भवनका १० योजनामा एक करोड ६३ लाख, जलस्रोत तथा सिँचाईका एक सय १७ योजनामा आठ करोड ४० लाख र खानेपानी तथा सरसफाईका ८५ योजनामा पाँच करोड ६५ लाख बजेट छ।

बढि बजेट पाउने सूचीको तेस्रो नम्बरमा रहेका कांग्रेस सांसद खड्काको डोटी प्रदेश ख बाट निर्वाचित भएका मुख्यमन्त्री त्रिलोचन भट्टको क्षेत्रमा २३ करोड ९२ लाख बजेट पर्दा उनको प्रदेश क मा २४ करोड ५९ लाख बजेट परेको छ। जुन मुख्यमन्त्री भट्ट, अर्थमन्त्री झपट बोहोरा, कानून मन्त्री प्रकाश शाह र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको भन्दा बढि हो।

खड्काको क्षेत्रमा सडक, पुल र झोलुङ्गे पुलका २३ योजनामा १२ करोड ५० लाख , सहरी विकास तथा भवनका ३ योजनामा २० लाख, जलस्रोत तथा सिँचाईका ८५ योजनामा नौ करोड र खानेपानी तथा सरसफाईका ९३ योजनामा २ करोड ८९ लाख बजेट छ। तर खडकाले आफ्नो निर्वाचन क्षेत्रमा बजेट बढि परेपनि प्रदेश सरकारको बजेट विधि सम्मत नभएको बताउँदै आएका छन्। उनले भने,‘मेरो निर्वाचन क्षेत्रमा बढि बजेट परे त्यो भारत चीनमा परेको होईन नेपालमै हो तर कसको क्षेत्रमा कति बजेट प¥यो भन्दा पनि विधि सम्मत रुपले बजेट वितरण नभएको भन्ने हामीहरुको प्रश्न हो।’

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस