सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाका आठ जना व्यवसायी धरौटीमा छुटे, स्वागत गर्न धनगढीका मेयर पनि जिप्रकामा

२०७६ असार २३, ०७:२२ खबर संवाददाता

नगरसभा उद्घाटन कार्यक्रममा अभद्र व्यवहार गरेको भन्दै गोदावरी नगरपालिकाले दिएको उजुरीको आधारमा असार १८ गते पक्राउ परेका अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित आठ जना धरौटीमा छुटेका छन्। संघका अध्यक्ष देवकोटा सहित सचिव शंकर खड्का, सदस्य रबिन्द्र खनाल, विजपिन साउद, व्यवसायीहरु रमेश बोगटी, दिनेश विष्ट, मोहन पाठक र केशब न्यौन्याललाई जिल्ला प्रशासन कार्यालय कैलालीले धरौटीमा छोडेको हो। प्रति व्यक्ति सात हजार धरौटी बुझाएपछि उनीहरुलाई तारेखमा छोडिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। 

यस्तै ८ जना व्यवसायी तारेखमा छुटेपछि जिल्ला प्रहरी कार्यालयमा स्वागतका लागि धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, अत्तरिया उद्योग वाणिज्य संघका अन्य पदाधिकारी र व्यवसायीहरु जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनीहरुले धरोटीमा छुटेका ८ जनालाई नै टिका र खादा लगाएर स्वागत गरेका छन्। ८ जना मध्ये अध्यक्ष सहित तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन भईरहेकै अवस्थामा पक्राउ गरेको थियो भने अन्य पाँच जना भने प्रहरीमा आँफै उपस्थीत भएका थिए। गत असार १० गते नगरसभा चलिरहेका बेला आफूहरुलाई शुभकामना मन्तव्य राख्न नदिएको भन्दै केही व्यापारीले विरोध जनाएका थिए।

नेकपा स्थायी कमिटि सदस्य लेखराज भट्ट सहभागि नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारी सहित ८ जना व्यापारी विरुद्ध मुद्धा दर्ता गरेको थियो। प्रहरीले सार्वजनिक हित विरुद्धको कसुर अन्र्तगत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा उनीहरुलाई पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस