धनगढीमा गुणस्तरहीन सडक निर्माण गरेको भन्दै विरोध
धनगढी : कैलालीको धनगढीमा गुणस्तरहीन सडक निर्माण गरेको भन्दै विरोध भएको छ।
धनगढी उपमहानगरपालिका–४ घरेलु चोकदेखि तीन सय मिटर क्षेत्रको सडक कालोपत्रमा गुणस्तरीय काम नगरेको भन्दै स्थानीयले सामाजिक सञ्जालहरूमा विरोध गरेका हुन।
स्थानीयले सामाजिक सञ्जालहरू मार्फत निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै विरोध गरेका छन्। उनीहरूले कालोपत्र स्तरीय नभएको, सडकमा पानी जम्मा भएको लगायतको आरोप लागाएका छन्। तर, धनगढी उपमहानगरपालिकाले भने, प्रयोगशाला परीक्षण प्रतिवेदन राम्रो आएको दाबी गरेको छ। धनगढी उपमहानगरपालिकाका इन्जिनियर रोशन खड्काले समयमा परीक्षण गरेको बताए। उनले भने, ‘सामाजिक सञ्जालहरूमा विरोध आएको छ। गुनासोहरू आएका छन्। तर, समयमा परीक्षण गरेका छौ। प्रतिवेदन राम्रो छ। काम सकिएको छैन। निर्माणको काम जारी हरेको छ। काम पूरा भएपनि पानी जम्मा हुँदैन। कालोपत्र पनि राम्रो देखिने हो।’
धनगढी उपमहानगरपालिकाले घरेलु चोकदेखि उत्तर तीन सय मिटर क्षेत्रको सडक निर्माण कम्पनी मार्फत कालोपत्र गर्दै छ। धनगढी उपमहानगरपालिकाको ७९ लाखको बजेटमा सडक कालोपत्रको लागि ठेक्का सम्झौता गरेको हो। सडक निर्माणको जिम्मा पाएको यूनिटी कन्स्ट्रक्सन एण्ड बिल्ड्रस प्रालिले २०८२ जेठ अन्तिमसम्म सडक कालोपत्रको काम पूरा गर्नुपर्ने छ। हाल निर्माण कम्पनीले सडक कालोपत्रको काम गर्दै छ। निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीले विरोध गरेका छन्। तर, सञ्चालक भोजराज रेग्मीले प्रयोगशाला प्रतिवेदनहरू राम्रो आएको बताएका छन्। उनले भने, ‘जेठसम्म म्याद रहेको छ। हामीले सबै सामाग्रीको परीक्षण गरेका हौ। सबै राम्रो थियो। उपमहानगरपालिकाले फेरि परीक्षण गर्ने छ। हालसम्म प्रयोगशाला प्रतिवेदन राम्रो छ। उपमहानगरपालिकाको इस्टिमेट अनुसार काम गरेका छौ।’
सडक कालोपत्र गर्दा गुणस्तरीय नगरेको र सडकमा पानी जमेको भन्दै स्थानीयले विरोध गरेका हुन। तर, गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुसारको कालोपत्र गरिएको दाबी गरेको छ। धनगढी उपमहानगरपालिकाको गुणस्तर परीक्षणमा कमसल निर्माण सामाग्री प्रयोग नभएको पाइएको दाबी गरिएको हो। निर्माण कम्पनीले निर्माण सामाग्रीको बागेश्वरी सिभिल ल्यावबाट परीक्षण गरेर सडक निर्माणमा प्रयोग गरेको छ। निर्माण कम्पनीले २०८१ मङ्सिर २२ गतेको प्रयोगशाला परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको हो।
धनगढी उपमहानगरपालिका–४ घरेलु चोकदेखि उत्तरबेहडी चोकसम्मको सडक कालोपत्रको योजना हो। तर, स्थानीयले नाली निर्माण गर्न नदिएकाले ८० मिटर क्षेत्रमा काम भएको छैन। स्थानीयले नाली बिनाको सडक निर्माणको माग गर्दै मुद्दा दर्ता गरेका हुन्। स्थानीयका विरोधका कारण सो क्षेत्रमा सडक निर्माणको काम रोकिएको छ। तर, तीन सय मिटर क्षेत्रको सडक कालोपत्रको काम जारी रहेको छ। आगामी २ हप्तामा सडक कालोपत्रको काम पूरा गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ।