राष्ट्रपति रनिङ शिल्ड : ५९ पदकसहित घोडाघोडी प्रथम
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाले १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई प्रथम उपाधि हासिल गरेको छ।
घोडाघोडी नगरपालिका १० कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदान र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा खेलहरूमा भएका थिए।
उक्त प्रतियोगितामा घोडाघोडीले २५ स्वर्ण, १४ रजत र २० कांस्य गरी जम्मा ५९ पदक प्राप्त गरी प्रथम स्थान हुन सफल भएको हो । त्यसैगरी दोस्रो स्थानमा धनगढी उपमहानगरपालिका आउन सफल भएको छ। धनगढी उपमहानगरपालिकाले २४ स्वर्ण, ९ रजत र ५ कांस्य पदक प्राप्त गरी दोस्रो स्थानमा आउन सफल भएको हो।
प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भएको छ। गोदावरीले १२ स्वर्ण, १५ रजत र १२ कांस्य पदक गरी ३९ पदक प्राप्त गरेको छ। कैलाली जिल्लास्तरीय प्रतियोगिता बिहीबारबाट सुरु भएको हो। प्रतियोगिताको कैलाली जिल्ला खेलकुद समिति आयोजक र घोडाघोडी नगरपालिका सह-आयोजक छन्। यसअघि धनगढी रगंशालामा हुदै आएको प्रतियोगिता पहिलोपटक घोडाघोडीमा सुरु भएको हो।
कैलालीका १३ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीहरु जिल्ला स्तरिय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी लगायतका खेल भएको बताए।
यस प्रतियोगिताबाट छनोट भएका पालिकाका खेलाडीले प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगिताका भाग लिन पाउनेछन्।