सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस चौतारी नेपालको १२ बुँदे सुदूरपश्चिम घोषणा पत्र जारी

२०८१ फाल्गुन १८, ०३:१८ खबर संवाददाता

धनगढीः प्रेस चौतारी नेपाल सुदूरपश्चिमको दोस्रो अधिवेशन १२ बुँदे घोषणा पत्र जारी गर्दै नयाँ कार्यसमिति चयन गरेर सम्पन्न भएको छ।

घोषणा पत्रमा सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल सञ्चार कानुन ल्याउन, पत्रकाहरुको क्षमता अभिवृद्धि गर्न र मिडिया हाउसहरुको दिगो विकासका लागि आवश्यक कदम चाल्न, मिडिया क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्न चाहाने सञ्चारकर्मीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न भनिएको छ।

सुदूरपश्चिम प्रदेशको सरकारी तथा गैरसरकारी क्षेत्रको विज्ञापन सुदूरपश्चिमकै सञ्चारगृहरु मार्फत प्रकाशन तथा प्रसारणको वातावरण बनाउन माग गरिएको छ । आसञ्चार माध्यमहरुमा लेखेकै भरमा पत्रकारमाथि विभिन्न दबाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका कार्य बन्द गर्न पनि माग गरिएको छ।

यस्तै, नेपाल पत्रकार महासंघमा शुद्धिकरणको अभियान थप सशक्त बनाउन, श्रमजिवी पत्रकारहरुलाइ न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, महिला पत्रकारहरुको सङ्ख्या बढाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।

सुदूरपश्चिमको स्थायी राजधानीको टुङ्गो लगाइ पूर्वाधार निर्माणको काम थालनी गर्न, गेटामा यथाशिघ्र मेडिकल विश्वविद्यालय स्थापना गर्नुपर्ने भनिएको छ। सुदूरपश्चिमको अनुहार फेर्न सक्ने आयोजनाहरु पञ्चेश्वर, पश्चिम सेती, कर्णाली चिसापानीमा अध्ययन गरिएका जलविद्युत आयोजनाहरुको निर्माण, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, दैजी–छेला तथा डुडेझारी औद्योगिक क्षेत्र स्थापना, महाकाली करिडोर र सेती करिडोर जस्ता ठुला निर्माण कार्यहरुलाइ अघि बढाउन सरकारसँग माग गरेको छ।

प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश दोस्रो अधिवेशनले नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ निर्वाचित कार्यसमितिका पदाधिकारीलाई पे्रस चौतारीका नेता विश्वमणी सुवेदीले सपथ गराए।

कमेन्ट लोड गर्नुस