सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगातारको वर्षाले कैलालीका नदीमा पानीको वहाव बढ्यो

२०७६ असार २१, १२:५५ खबर संवाददाता

गएरातीदेखि लगातार परिरहेको  वर्षाले कैलालीका नदी तथा खोलाहरुमा समान्य समयको भन्दा पानीको सतह बढेको छ। लगातारको वर्षाले जिल्लाका ठुला, मझौला र साना नदी तथा खोलामा पानीको सतह समान्य समयको भन्दा बढेको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जिल्लाको मोहना, कर्णाली, गोदावरी लगायतका ठुला, मझौला र साना नदी तथा चुरे हुदै बग्ने खहरे खोलामा पानीको सहत बढ्दै गएको बताए।

उनले नदी खोलामा पानीको बहाव अत्यधिक नबढेपनि लगातारको वर्षालाई मध्यनजर गर्दैै उच्च सुरक्षा सर्तकता अपनाईएको जानकारी दिए। पहाड तीर पनि वर्षा भइरहेकाले पानीको सतह बढ्दै जाने देखिएको हुँदा सर्तक रहन समेत जिल्लाबासीलाई आग्रह गरिएको छ। वर्षाले धनगढी बजार समेत जलमग्न भएको छ।

 बाढी पूर्वानुमान महाशाखाले पनि आज सुदूरपश्चिम सहित पश्चिम नेपालका एक दर्जन बढी जिल्लाका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको जनाएको छ। महाशाखाले आज सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाम  जिल्लामा वर्षा हुँदा  नदी र खोलामा पानीको बहाव उच्च हुने अनुमान गरेको छ भने केही नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सर्तक रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस